अमेरिकी सांसदहरूले चीनबाट आउने विद्यार्थीहरूको भिसा पूर्ण रूपमा प्रतिबन्ध लगाउने विधेयक प्रस्ताव गरेका छन् ।
रिपब्लिकन सांसद राइली एम मूर द्वारा प्रस्तुत स्टप सीसीपी भिसास् एक्ट नामक विधेयकमा चिनियाँ विद्यार्थीहरूलाई अमेरिका प्रवेश गर्न नदिने प्रावधान राखिएको छ ।
सांसद मूरका अनुसार मिशिगन, भर्जिनिया, र शिकागोमा केही चिनियाँ विद्यार्थीहरू संवेदनशील जानकारी सङ्कलन गरेको आरोपमा पक्राउ परेका छन् । यही कारणले अब अमेरिकी सरकारलाई विद्यार्थी भिसा पूर्ण रूपमा बन्द गर्न उनले भनेका छन् ।
यद्यपि यो विधेयकप्रति शिक्षाविद्, अन्तर्राष्ट्रिय मामिला विशेषज्ञ र मानव अधिकार समूहहरूले कडा आपत्ति जनाएका छन् । शिक्षाविद्हरूले चिनियाँ विद्यार्थीहरूमाथि प्रतिबन्ध लगाइएमा अमेरिकी विश्वविद्यालयहरूलाई आर्थिक नोक्सानी हुन सक्ने चेतावनी दिएका छन् ।
सन् २०२३ मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा ५० अर्ब डलर योगदान पु¥याएका थिए । चिनियाँ विद्यार्थीहरूले घरेलु विद्यार्थीभन्दा धेरै महँगो शुल्क तिर्ने भएकाले तिनीहरूको कमीले विश्वविद्यालयहरूको बजेटमा असर पार्ने बताइएको छ ।
यद्यपि, प्रस्तावित व्यवस्था कार्यान्वयनमा आउन विधेयक अमेरिकी संसदबाट पारित हुनुपर्नेछ । यदि पारित भएमा यसले अमेरिकाको उच्च शिक्षामा ठूलो असर पार्ने देखिन्छ ।