क्यानडामा चुनाव

क्यानडामा अप्रिलमा चुनाव, नेपालीसहितका आप्रवासीलाई कस्तो प्रभाव ?

आप्रवासन आप्रवासन

क्यानडामा आगामी महिना चुनाव हुने भएको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आउँदो अप्रिल २८ मा चुनाव गर्ने घोषणा गरेका हुन् ।

अमेरिकासँग बढ्दो तिक्तताका माझ क्यानडामा नयाँ चुनाव घोषणा गरिएको हो ।

अमेरिका र क्यानडा बिच व्यापार युद्ध छेडिएको छ । यसबाहेक, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने अभिव्यक्ति लगातार दिइरहेका छन् ।

यसबाट क्यानडामा ट्रम्प विरोधी जनमत समेत बढेर गएको छ । प्रधानमन्त्री कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मुकाबिला गर्नका लागि चुनावमार्फत स्पष्ट जनादेश चाहिएको बताएका छन् ।

आउँदो चुनावमा प्रधानमन्त्री कार्नीको लिबरल पार्टी र पिएरे पोइलिव्रको कन्जरभेटिव पार्टी बिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । अमेरिकाबाहेक क्यानडामा बढ्दो महँगी, हाउजिङ, स्वास्थ्य तथा आप्रवासी समस्या चुनावी नारा बन्ने देखिन्छ ।

पछिल्ला वर्षहरूमा क्यानडामा नेपालीसहितका आप्रवासीहरूले महँगीसँगै हाउजिङ समस्या बढाएको भन्दै आप्रवासी विरोधी मत बढेर गएको छ ।

यस्तोमा आगामी चुनावपछि क्यानडामा आप्रवासीमाथि थप कडाइ हुन सक्छ ।