वर्ल्ड ह्याप्पिनेस रिपोर्ट

दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

आप्रवासन आप्रवासन

विश्व प्रसिद्ध वर्ल्ड ह्याप्पिनेस रिपोर्टले नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश ठहर गरेको छ । संयुक्त राष्ट्र संघले बिहीबार सार्वजनिक गरेको यो रिपोर्टले दक्षिण एसियामा नेपालीहरू सबैभन्दा खुसी रहेको पाइएको जनाएको हो ।

स्वतन्त्रता, जीवनको मूल्याङ्कन, सकारात्मक सोच, सामाजिक सहयोग, प्रति व्यक्ति आय, भ्रष्टाचारप्रतिको धारणा लगायतका मापकको मापन गरेर रिपोर्ट सार्वजनिक गरिएको हो । जसमा नेपालले १० मा ५ दशमलव ३ अङ्क प्राप्त गरेको छ ।

यद्यपि, विश्वको १४७ खुसी देशहरूको सूचीमा नेपाल ९२औँ स्थानमा छ ।

रिपोर्टले दक्षिण एसियामा पाकिस्तान नेपालपछिको खुसी देश घोषित गरेको छ । पाकिस्तान १०९औ स्थानमा छ । भारत भने युद्धरत युक्रेन र प्यालेस्टाइन, कठोर कानुन भएको इरान भन्दा पनि बेखुसी देशमा परेको छ । भारत ती देशहरू भन्दा पनि तल अर्थात् ११८औ स्थानमा रहेको छ ।

यसै गरी श्रीलङ्का १३३औ र बङ्गलादेश १३४औँ स्थानमा छन् ।

विश्वको सबैभन्दा खुसी देशमा फिनल्यान्ड छ । सूचीको दोस्रो स्थानमामा डेनमार्क, तेस्रोमा आइसल्यान्ड, चौथो स्विडेन र पाँचौँमा नेदरल्याण्डस् छ ।