अन्तर्राष्ट्रिय विद्यार्थी

जनसंख्या घट्दै गएपछि कोरियाली विश्वविद्यालयहरुको नजर विदेशी विद्यार्थीतर्फ

आप्रवासन आप्रवासन

दक्षिण कोरियामा विद्यालय जाने उमेर समूहका विद्यार्थीहरूको सङ्ख्या तीव्र रूपमा घट्दै गइरहेको छ । यसको असर विश्वविद्यालयहरूमा प्रत्यक्ष रूपमा परेको छ । जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र प्रौढ शिक्षार्थीहरूलाई आकर्षित गर्न विश्वविद्यालयहरू सक्रिय रणनीति अपनाइरहेका छन् ।

 

कोरियन एजुकेशनल डेभलपमेन्ट इन्स्टिच्युटद्वारा हालै प्रकाशित एक अध्ययनका अनुसार, आगामी दुई दशकमा विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीहरूको सङ्ख्या ठूलो मात्रामा घट्नेछ ।

प्रतिवेदनअनुसार, दक्षिण कोरियामा विश्वविद्यालय वा जुनियर कलेजमा भर्ना हुन योग्य उच्च माध्यमिक तहका विद्यार्थीहरूको सङ्ख्या सन् २०२४ मा २ लाख ८५ हजार ९२४ रहेकोमा सन् २०३५ सम्ममा १२ हजार ५ सय १८ ले घटेर २ लाख ७३ हजार ४०६ मा सीमित हुने अनुमान छ । यो गिरावट अझ तीव्र गतिमा जारी रहने बताइएको छ । 

 

घट्दो विद्यार्थीका कारण विश्वविद्यालयहरूले विदेशी विद्यार्थी र प्रौढ शिक्षार्थीहरूलाई आकर्षित गर्ने रणनीति लिएका छन् । सन् २०१६ देखि २०२३ सम्म विद्यालय उमेर समूहका विद्यार्थीहरूको विश्वविद्यालय भर्ना २७ हजार ७३५ ले घटेको थियो। यद्यपि, सोही अवधिमा ७ हजार ४५७ जना प्रौढ शिक्षार्थी र १,८५१ जना अन्तर्राष्ट्रिय विद्यार्थी थपिएका थिए, जसका कारण कुल क्षति १८ हजार ४२७ मा सीमित भयो ।

 

कोरियन काउन्सिल फर युनिभर्सिटी एजुकेसनले २०२४ मा गरेको सर्वेक्षणमा, ५२.७ प्रतिशत विश्वविद्यालयले “अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्नु र शिक्षाको गुणस्तर सुधार गर्नु” लाई आफ्नो शीर्ष तीन प्राथमिकताहरूमा राखेका थिए । हालैका वर्षहरूमा विदेशी विद्यार्थीहरूको विश्वविद्यालयमा भर्ना दर उल्लेखनीय रूपमा बढेको छ । विश्वविद्यालयहरूले घरेलु विद्यार्थी सङ्ख्यामा आएको गिरावट र वित्तीय चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मुख्य विकल्पका रूपमा हेरिरहेका छन् ।