प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई देखाउनलाई नभई चलाउनलाई बनाइएको भन्दै पूर्ण क्षमतामा चलाइने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकको ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरी कार्य योजना बनाइ कार्यान्वयन गरिरहेको बताएका हुन् ।
यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याएको ओलीको भनाइ छ ।
यस्तै, हाल अलजजिरा, फ्लाई दुबई, एअर एसिया र नेपाल एयरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको उनको भनाइ छ ।
श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु भएको साथै, अध्यागमन, मुद्रा सटही लगायतका बैङ्किङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी काम भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।