अमेरिकामा ६ जना भुटानी शरणार्थी पक्राउ परेका छन् । अध्यागमन कानुन उलङ्घनको अभियोगमा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट आइसले पेन्सिलभेनियाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पश्चात् उनीहरूलाई अध्यागमन हिरासतमा राखिएको र देश निकालाको तयारी गरिएको छ । पक्राउ पर्नेहरू पुनर्वास कार्यक्रम अन्तर्गत केही वर्षअघि नेपालबाट अमेरिका गएका भुटानी शरणार्थीहरू हुन् ।
सामान्यतया अमेरिकाले देश निकाला गरेकाहरूलाई उनीहरूको मूल देश फर्काउने गरेको छ । यसअघि जोखिमको बाबजुद पनि इराकी शरणार्थीहरूलाई इराक फिर्ता पठाइएको थियो ।
तर भुटानले यसअघि नै आफ्ना नागरिकका रूपमा अस्वीकार गरेको र नेपालले शरण दिएको सन्दर्भमा उनीहरूलाई कहाँ फर्काउने भन्ने विषय जटिल बनेको छ ।
यद्यपि, नेपालबाट गएका भएता पनि अमेरिकाले उनीहरूलाई भुटानी नागरिकका रूपमा नै वर्गीकरण गर्ने गरेको छ ।
यस्तोमा, अमेरिकाले उनीहरूलाई भुटान नै पठाउन सक्छ । तर त्यस अवस्थामा समेत उनीहरूलाई भुटानले ग्रहण गर्छ गर्दैन र गरेको खण्डमा समेत कुन हैसियतमा राख्छ भन्ने विषय पेचिलो बनेको हो ।
अमेरिकाले उनीहरूलाई तेस्रो देशमा पठाउन पनि सक्छ । तर तेस्रो देश पठाएर कैद भुक्तान गराइसकेपछि पनि तेस्रो देशले उनीहरूलाई कहाँ पठाउने भन्ने विषय समेत जटिल बन्न सक्छ ।