भैरहवाबाट अन्तर्राष्ट्रिय उडान

भैरहवाबाट नियमित उडान गर्न अन्तर्राष्ट्रिय एयरलाइन्स अनिच्छुक

आप्रवासन आप्रवासन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गरिरहेका एयरलाइन्स समर सेड्युलका लागि अनिच्छुक देखिएका छन् । ५ महिना यता भैरहवाबाट व्यावसायिक उडान गर्दै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी समर सेड्युल लिन अनिच्छुक देखिएका हुन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान गर्दा नोक्सान व्यहोरेपछि अन्तर्राष्ट्रिय उडान थालनी गरेका फ्लाई दुबई, थाइ एयर एसिया र जजिराले आउँदो चैत २१ गतेबाट लागू हुने नयाँ उडान तालिकाका लागि प्रस्ताव अगाडी नबढाएका हुन् । 

यो विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीका लागि गरेको विशेष छुटको निर्णय लागू गर्दा पनि कुनै अन्तर्राष्ट्रिय वायुसेवाबाट हालसम्म प्रस्ताव नआएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ ।

गौतम अन्तर्राष्ट्रिय विमानस्थल समर सेड्युल चैत २१ गतेबाट सुरु हुँदै छ ।

सरकारको निर्णय बमोजिम भैरहवाबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि विशेष छुट बाहेक श्रम, अध्यागमन, गृह लगायत अन्तरमन्त्रालयको सहकार्य नभएका कारण आउँदो समर सेड्युल लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी अगाडी नबढेको क्यानको भनाई छ ।

शून्य आम्दानीमा विमानस्थल सञ्चालन गर्दा पनि पर्याप्त उडान नभएपछि यतिखेर प्राधिकरणले वायुसेवा कम्पनीलाई स्वतन्त्र छोडिदिएको हो । 

वायुसेवा कम्पनीले यो अवधिसम्म गरेको उडानमा पर्याप्त यात्रु नपाएका कारण हतोत्साहित भएका छन् । भैरहवाबाट उडान गर्दा अपरेसन कस्ट उठ्न समेत नसक्ने अवस्थामा छ ।

यस्तोमा समर सेड्युलमा कुनै पनि अन्तर्राष्ट्रिय एयरलाइन्सले सेवा निरन्तर नदिएमा थप एक वर्ष व्यावसायिक उडान कठिन हुने जनाइएको छ ।