अमेरिकामा

अमेरिकामा भिसा र ग्रिन कार्ड भएका पनि देश निकालाको निशानामा

आप्रवासन आप्रवासन

अमेरिकामा यसअघि जारी भएका भिसा समेत रुद्ध हुन सक्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने र रुद्ध गर्न सकिने बताएको हो ।

विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी मन्त्रालयबाट आएको हो ।

अमेरिकाले पछिल्ला दिनहरूमा विभिन्न भिसासँगै ग्रिन कार्ड भएका आप्रवासीमाथि थप कडाइ गर्दै लगेको छ । केही दिनअघि मात्रै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रिन कार्ड भएकाहरूलाई सधैँभरि अमेरिकामा बस्ने अधिकार नभएको बताएका छन्।

अमेरिकाको द इन्ग्राहम एन्गल सोलाई दिएको अन्तर्वार्तामा उपराष्ट्रपति भान्सले ग्रिन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई अमेरिकामा सधैँभरि बस्ने अधिकार मिल्छ भन्ने नभएको बताएका हुन् । उनले गृह मन्त्रालय वा राष्ट्रपतिले निर्णय गरेमा ग्रिन कार्ड बाहकहरूलाई देश निकाला गर्न सकिने समेत बताएका छन् । 

अमेरिकाको ग्रिन कार्ड हुनु भनेको विदेशीहरूलाई अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्ने अधिकार पाउनु हो । तर उपराष्ट्रपति भान्सको अभिव्यक्ति र सरकारको पछिल्लो नीतिसँगै अमेरिकामा भएका नेपालीसहित जोकोही पनि अचानक देश निकालामा पर्न सक्ने देखिएको छ ।