वैदेशिक रोजगारीमा नेपाली

काम खोज्दै फागुनमा मात्रै १०२ देश पुगे नेपाली

आप्रवासन आप्रवासन

फागुनमा मात्रै काम खोज्दै नेपालीहरू १०२ देश पुगेको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले फागुनमा मात्र ६८ हजार ९६३ नेपाली कामका लागि १०२ देश पुगेको देखाएको हो ।

फागुनमा वैदेशिक रोजगारीका लागि नेपालीहरू अफ्रिकाको नाइजेरियादेखि द्धन्द्धग्रस्त लेबनान र रुससँगै ल्याटिन अमेरिकी देश चिल्लीसम्म पुगेका छन् ।

फागुनमा सबैभन्दा धेरै अर्थात् २५ हजार ११७ नेपाली युएई पुगेका छन् । त्यसपछि ११ हजार ६३३ जना साउदी गएका छन् । 

गएको माघमा पनि काम खोज्दै नेपालीहरू १०३ मुलुक पुगेका थिए । माघमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ७२ हजार ४४१ थियो । 

त्यसअघि मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जना नेपालीले रोजगारी खोज्दै मुलुक छाडेका थिए । 

योसँगै चालु आर्थिक वर्षको ८ महिनामा रोजगारीका सिलसिलामा विदेशिने नेपालीको सङ्ख्या सवा ५ लाख नाघेको छ । गत साउनदेखि फागुनसम्ममा कुल ५ लाख ३४ हजार ४७१ नेपाली काम खोज्दै विदेशिएका छन् ।

यो सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ हजार भन्दा धेरै हो । अघिल्लो वर्षको ८ महिनामा ४ लाख ७१ हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

यसबाट हाल औसतमा दैनिक २२ सय नेपालीले रोजगारीका लागि देश छाडिरहेको देखिन्छ ।