आप्रवासीलाई देश निकाला

अमेरिकाले पठायो २३८ आप्रवासीलाई एल साल्भाडोरको कुख्यात जेल

आप्रवासन आप्रवासन

विभिन्न ग्याङ सदस्यको आरोपमा पक्राउ गरिएका २३८ आप्रवासीलाई देश निकाला गरी अमेरिकाले एल साल्भाडोरको कुख्यात जेलमा पठाएको छ । यसरी एल साल्भाडोर पठाइएका सबै जना भेनेजुएलाका आप्रवासीहरू हुन् ।

एल साल्भाडोरका राष्ट्रपति नयिब बुकेलोले अन्तर्राष्ट्रिय एमएस-१३ ग्याङका १३ सदस्यसहित भेनेजुएली ग्याङ ट्रेन-डे आराजुआका २३८ सदस्यलाई ग्रहण गरिएको पुष्टि गरेका छन्।

ती आप्रवासीहरूलाई कुख्यात जेल टेरोरिजम कन्फिन्मेन्ट सेन्टरमा राखिने राष्ट्रपति बुकेलोले जनाएका छन् । यो जेल संसारकै अति कठोर जेल मध्येको एक हो ।

उनीहरूलाई त्यस जेलमा एक वर्ष राखिने र त्यसपछि थप निर्णय हुने बताइएको छ।

यद्यपि, अमेरिकी अदालतले उनीहरूलाई देश निकाला गर्नुको कारण प्रमाणित गर्नु आवश्यक रहेको बताउँदै त्यो काम नगर्न आदेश दिएको थियो । तर ट्रम्प प्रशासनले अदालतको लिखित आदेश प्राप्त गर्नुअघि नै ती आप्रवासीलाई विमानमा चढाएर उडाइसकेको थियो । 

भेनेजुएलाले आफ्ना नागरिकप्रति यस किसिमको व्यवहारको कडा शब्दमा आलोचना गरेको छ । भेनेजुएलाले आरोप पुष्टि नभएकालाई अपराधीको झैँ व्यवहार गरिएको भन्दै यो मानवताको इतिहासको कालो अध्याय भएको संज्ञा दिएको छ।