क्यानडामा नेपाली मूलका विजय पौडेल सांसद पदका लागि मनोनयनमा परेका छन् । क्यानडाको कन्जरभेटिभ पार्टीले पौडेललाई राजधानी ओटोवाको मिसिसगा मल्टन क्षेत्रबाट सङ्घीय सांसद पदका लागि मनोनीत गरेको हो ।
मनोनीत भएसँगै पौडेलले नारा र योजनासहित चुनावी क्याम्पेन सुरु गरिसकेका छन् । उनलाई ड्यान मोयज, कायल सिब्याक र ब्लेयन काल्किन्स जस्ता क्यानडाका सासंदहरुले इन्डोर्स गरेका छन् ।
पौडेलले 'क्यानडा फस्ट'को नारा दिएका छन् । यस्तै, रोजगारी सिर्जना, सार्वजनिक सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताका लागि आफूलाई भोट हाल्न जरुरी रहेको बताएका छन् ।
बर्दियामा जन्मिएका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट सूचना व्यवस्थापनमा स्नातक पास गरेपछि सन् २०१० मा क्यानडा गएका थिए ।
त्यसपछि उनले कामसँगै आफूलाई स्थानीय राजनीतिमा समेत सक्रिय बनाउँदै लगेका थिए ।
उनी फेडरेशन अफ क्यानडा-नेपाल चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष समेत हुन्। क्यानडामा आगामी अक्टोबरमा चुनाव गर्ने तयारी छ ।
पौडेल मनोनीत भएसँगै क्यानडामा रहेका नेपाली समुदायका बिचमा उनको पक्षमा माहौल बनाउन सुरु भएको छ ।