मलेसियामा चक्का जाम गरेर सडक आन्दोलनमा उत्रेका १३ नेपाली पक्राउ परेका छन् । आन्दोलनमा उत्रेर दङ्गा भड्काएको आरोपमा मलेसियाली प्रहरीले १३ जना नेपाली कामदारलाई गिरफ्तार गरेको हो ।
नेपालीहरू माथि मलेसियाको पेराक राज्यको तेलुक इन्टान सहरको चांकाट जोङ क्षेत्रबाट पक्राउ परेका हुन् । उनीहरूमाथि उक्त क्षेत्रमा दङ्गा भड्काएको अभियोग लगाइएको छ ।
मलेसियाली प्रहरीका अनुसार शुक्रबार राती जालान चांकाट जोङमा कारको ठक्करबाट एक कामदारको मृत्यु भएको थियो । सो घटनापछि नेपालीसहित एक हजार कामदार घटनास्थलमा भेला भएर सडक अवरुद्ध गरी आन्दोलनमा उत्रेका थिए ।
शुक्रबार राती साढे ९ बजेदेखि शनिबार बिहान २ बजेसम्म स्थिति तनावपूर्ण रहेपछि प्रहरीले बल प्रयोग गरी कामदारहरूलाई तितरबितर पारी १३ जना नेपालीलाई पक्राउ गरेको हो ।
उनीहरूलाई ४ दिनका लागि हिरासतमा राखिएको र म्याद थपका लागि स्थानीय अदालतसँग अनुमति मागिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका नेपालीहरूमाथि दण्ड संहिताको धारा १४७ अन्तर्गत अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका नेपाली कामदारहरूको परिचय र कार्यरत कम्पनीको विवरण भने खुलाइएको छैन ।