अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई यात्रा प्रतिबन्ध लगाउने तयारी थालेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार ह्वाइट हाउसले त्यस्ता मुलुकको सूची तयार पारिसकेको छ ।
देशहरू अनुरूप रेड, ओरेन्ज र यलो गरी ३ थरीको सूची तयार गरिएको छ । रेड लिस्टमा पर्ने मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइने योजना छ ।
यस्तै, ओरेन्ज क्याटेगोरीमा पर्ने मुलुकलाई उच्च निगरानीका साथ सीमित भिसा दिइने छ ।
यलो क्याटेगोरीमा पर्ने मुलुकहरूलाई भने सुरक्षा संवेदनशीलता लगायतका विषय सुधार गर्न ६० दिनको समय दिइने र सो अवधिमा सुधार नभए प्रतिबन्ध लगाउने गरी योजना बनाइएको छ ।
यी सूचीहरूमा सुडान, भेनेज्युला, लिब्या, सोमालिया, सिरिया, यमन, इरान, क्युबा र उत्तर कोरिया समेटिने चर्चा छ ।
यस्तै, सूचीमा पाकिस्तान र अफगानिस्तान थपिन सक्ने प्रबल सम्भावना रहेको जनाइएको छ ।
गत जनवरी २० मा शपथ लिएसँगै ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै मन्त्रिपरिषद्का सदस्यहरूलाई यात्रा प्रतिबन्ध लाग्नुपर्ने देशहरूको सूची बनाउन निर्देशन दिएका थिए। सोही अनुरूप सूची तयार भएको हो ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि ७ वटा मुस्लिम बहुल देशका नागरिकहरूलाई यात्रामा प्रतिबन्ध लागू गरेका थिए ।