आज होली । नेपालका पहाडी जिल्लासहित विश्वभर छरिएर बसेका नेपालीहरूले आज होली पर्व मनाइरहेका छन् ।
होली परस्पर मेलमिलाप र सामाजिक सौहार्दको पर्व हो । होलीलाई रङ्गहरूको पर्व पनि भनिन्छ । यो पर्व एक अर्कालाई विभिन्न रङ्गहरू लगाइ खुसीयाली साटासाट गरेर रमाइलो गरी मनाइन्छ ।
घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाइने होलीको नेपालीहरूमा विशिष्ट महत्त्व छ । विश्वभर छरिएका नेपालीहरूले अनौठो पर्वको रूपमा होलीलाई विश्वभरि पुर्याएका छन्।
नेपालमा मनाइने यो पर्वले नेपालीहरूको सांस्कृतिक पहिचानलाई समेत झल्काउँछ ।
नेपालमा होली जस्तै विश्वका विभिन्न देशमा निकै अनौठा खालका पर्व मनाएको पाइन्छ । जस्तै स्पेनमा टोमाटिना, सान फर्ममिन, थाइल्यान्डको मंकी बफेट, चीनको हार्वन आइस फेस्टिभल, मेक्सिको बलुन फिस्टा ।
तर यी पर्वलाई ती देशहरूले बाह्य पर्यटक आकर्षित गर्ने अवसरको रूपमा उपयोग गरिरहेका छन् । यी पर्व हेर्न वा तीनमा रमाउनकै लागि संसारभरिका पर्यटक ती देशहरूमा पुग्ने गरेका छन् ।
यसबाट सिकेर नेपालले समेत होलीलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ ।
हरेक वर्षको होलीमा नेपालमा भएका पर्यटकले होलीको मज्जा लिएको दृश्यहरूले यसलाई ब्रान्ड गर्न सकिन्छ भन्ने समेत देखाउँछ । विदेशी पर्यटकको लागि नेपाल चिन्ने र नेपालमा रमाउन होलीको एक दिनले पनि धेरै मद्दत पुगेको देखिन्छ ।
अन्यत्र नमनाइने भएकाले यसलाई प्रवर्द्धन गर्न सहज समेत छ । होलीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन र प्रचार गर्न सकेमा त्यसले विदेशी पर्यटकको वृद्धि गराइ पर्यटन व्यवसायलाई चलायमान बनाउन मद्दत पुग्ने थियो ।
होलीबाटै नेपाललाई ’फेस्टिभल टुरिजम’ गन्तव्यको रूपमा विकास गर्न यसले मद्दत गर्छ ।
त्यसैले पर्यटन व्यवसायीसँग मिलेर सरकारले धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सक्ने गरी होलीलाई अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न आवश्यक कार्यक्रम ल्याउन ढिलो गर्न हुँदैन ।