रुससँग जारी युद्ध विराम गर्न युक्रेन सहमत भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरूसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्ध विराम गर्न तयार भएको हो । सो वार्तामा अमेरिकाले राखेको ३० दिनको युद्ध विराम प्रस्ताव युक्रेनले स्वीकार गरेको हो ।
साथै अमेरिकाले युक्रेनलाई रोकेको सहायता जारी राख्ने र खुफिया जानकारी आदानप्रदान पुन: सुचारु गर्ने छ । खनिज खानीसम्म अमेरिकालाई पहुँच दिने विषयमा पनि युक्रेन तयार देखिएको छ ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले युद्ध विरामको प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको भन्दै अब रुसले निर्णय गर्नुपर्ने बताएका छन् ।
रुस र युक्रेनबिच तीन वर्षदेखि युद्ध जारी छ । यो बिचमा युक्रेन युद्ध विरामका लागि तयार भएको पहिलो पटक हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम प्रस्तावको स्वागत गर्दै रुसले पनि समर्थन गर्ने आशा व्यक्त गरेका छन्।
अब युद्ध विराम प्रस्तावमा रुसले कसरी प्रतिक्रिया जनाउने छ भन्ने चासोको विषय बनेको छ ।
यदि, रुसले सहमति जनाएको खण्डमा युद्ध अन्त्यतर्फ एक महत्त्वपूर्ण कदम अघि बढ्ने विश्वास गरिएको छ ।