युएईबाट नेपाली डिर्पोट

रक्सी सेवन र झैझगडाका कारण युएईबाट ६६ सय नेपाली डिर्पोट

आप्रवासन आप्रवासन

युएईमा रहेका नेपालीहरुबारे एउटा यथार्थ बाहिर आएको छ । हरेक दिन जसो वा अझ भनौँ दिनमा पटक पटक परिवारको सम्पर्कमा रहेका उनीहरू एकाएक सम्पर्कबाट बाहिरिन्छन् । 

परिवारले अनेक प्रयास गर्दा पनि सम्पर्क हुनै सक्दैन । पछि विभिन्न निकायको सहयोगमा पुग्छन् । अनि महिनौँ पछि पत्ता लाग्छ बेपत्ता भनिएकाहरू त युएईका विभिन्न जेलमा पुर्पक्षमा राखिएका रहेछन् । उनीहरूमध्ये केही अनुसन्धानको क्रममा हुन्छन् त केही नेपाल फर्काउनका लागि डिपोर्टेसन सेन्टरमा सारिका हुन्छन् । 

आखिर उनीहरूले के त्यस्तो अपराध गरेका हुन्छन् जस कारण सुनौलो भविष्यको सपनामा धनआर्जन गर्न पुगेकाहरु प्रहरीको फन्दामा हुन्छन् रु अपराध सामान्य देखी जघन्य छन् । तर आश्चर्य लाग्ने कुरा यसरी डिपोटेसनको प्रक्रियामा हुनेहरू अधिकांश रक्सीसेवन, झैझगडा गरेर प्रहरीले समाएका छन् । अन्य केही लागुऔषध सेवन र लागु औषधको कारोबारमा संलग्न रहेको आरोप खेपिरहेकाहरु पनि ।

युएईमा श्रमिकहरू बसोबास गर्ने क्याम्प सहरी क्षेत्रबाट अलिक टाढा पर्छ । सहरभित्रको ट्राफिक र अन्य कारणले गर्दा लेबर क्याम्पलाई सहरभन्दा अलिकति बाहिर तर व्यवस्थित रूपमा बनाइएको हुन्छ । लेबर बस्ने ती भवननजिकै रम्बलघारी अर्थात् मरुभूमि क्षेत्र पर्छन् ।

क्याम्प प्रशासनले क्याम्पभित्र रक्सी ल्याउन प्रतिबन्ध गरेको हुन्छ । चर्को घाममा काम गरेका श्रमिकहरू दिनभरिको थकान मेटाउन नजिकैबाट रक्सी किन्छन् र सितन बोकेर रम्बलघारीमा बसेर अबेरसम्म मातेर बस्छन् । अनि एक छिनको रमाईलो ले उनीहरुलाई जेलमा पुर्याउछ ।

यसरी सार्वजनिक स्थानमा रक्सी सेवन गर्नु, होहल्ला गर्नु र झैझगडा गर्नु गैर कानुनी कार्य हो । खाडी देशहरूमा लागु औषध सेवन र ओसारपसार सोच्न पनि सकिन्न। अत्यन्तै कडा कानुन छ । अझ क्याम्पमा बस्दा पनि त्यहाँ तोकिएका नियम पालना गर्नुपर्छ । 

हालै मात्र पनि अबुदाबी स्थित नेपाली दुतावासले मदिरा खाएर होहल्ला नगर्न सचेत गराएको छ । दुुतावासले आफु बसेको स्थानको नियम पालना गर्न सचेत गराउँदै इमिग्रेट्स आइडि सधै साथमै लिएर हिड्न समेत भनेको छ ।

क्याम्पमा बस्दा पालना गर्नुपर्ने नियमहरूबारे केही दिन पहिले हामीले एउटा भिडियो तयार पारेका थियौ । त्यस्ता नियमको उल्लङ्घन गर्नेहरू पनि थुनामा पुराइन्छन् । नेपाल डिपोट गराइन्छन् । 

नेपाली दूतावास अबुधाबीको अनुसार गत ३ महिनाको अवधिमा मात्रै ६ सय ३३ जना नेपालीहरूलाई युएई सरकारले देश निकाला छ । केहीले यहाँको अध्यागमनको कानुन उल्लङ्घन गरेको भए भए पनि अधिकांश श्रमिकहरू अवैध मदिरा सेवन, लागु औषध कारोबार र भिसा अवधि सकिएर गैर कानुनी रूपमा बस्दै आएकाहरू हुन् ।  

रमदानको पहिलो ४ दिनमा मात्र दुबईबाट २ सय ५० जना नेपालीहरूको निष्कासनको पक्रियामा रहेका छन् । दूतावास स्रोतले बताएअनुसार गत ६ महिनाको अवधिमा २ हजार ५ सयभन्दा बढी नेपालीहरू युएईबाट निष्कासित भएका छन् । 

गत डिसेम्बर महिनामा २ सय ४३ जना नेपालीहरू युएईको अदालतले तोकेबमोजिम जेल सजाय भोगिरहेको दूतावासले जनाएको छ ।