चालु आर्थिक सात महिनामा ९ खर्ब बढी रेमिटेन्स भित्रिएको छ ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनले गत साउनदेखि माघसम्ममा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको देखाएको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
माघ महिनामा मात्रै १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।
पुस र मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
कात्तिकमा १ खर्ब १४ अर्ब र असोजमा १ खर्ब ४४ अर्ब आएको थियो ।
त्यसअघि, भदौमा १ खर्ब २६ अर्ब र साउनमा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
पछिल्लो डेढ वर्षयता हरेक महिना एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिइरहेको छ ।
जसले गर्दा निर्यात, विदेशी लगानी, अनुदान तथा सहायताको अवस्था कमजोर हुँदा पनि अर्थतन्त्रका बाह्य सूचक बलियो बन्दै गएका छन् ।