बेलायतमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूमाथि ठगीको घटना दिनानुदिन बढ्दै गएको छ ।
विश्वविद्यालय तथा कलेजहरूमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरू विभिन्न एजेन्टहरूको प्रलोभनमा परेर आर्थिक र मानसिक रूपले ठगिने गरेका छन् । पछिल्लो समय ’युके काण्ड’को नाममा करोडौँ ठगी भएको विषय बाहिरिएपछि लन्डनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै सचेत रहन आग्रह गरेको छ ।
दूतावासको वक्तव्यमा भनिएको छ, “नेपाली विद्यार्थीहरू दशकौँदेखि बेलायतका विश्वविद्यालय र कलेजहरूमा अध्ययन गर्न आइरहेका छन् । तर, विद्यार्थीहरूलाई बेलायतमा अध्ययनको अवसरको प्रलोभन देखाएर ठग्नु निन्दनीय र कानुनी अपराध हो।“ नेपाली विद्यार्थीहरू ठगिन नदिन नेपाल र बेलायतका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको दूतावासले जानकारी गराएको छ ।
ठगीबाट जोगिन बेलायत जाने विद्यार्थीहरूले विश्वविद्यालय, भर्ना प्रक्रिया, शुल्क संरचना, बसोबास र रोजगारीबारे अध्ययन गरेर मात्र बेलायत जान अनुरोध गरिएको छ ।
ठगीको शङ्का लागेमा बेलायतस्थित नेपाली दूतावास वा नेपाल सरकारका सम्बन्धित निकायमा उजुरी गर्न सकिने छ । यस्तै सामाजिक सञ्जालमा प्रचार गरिएको आकर्षक प्रस्तावहरूबारे सतर्क रहन सचेत गराइएको छ ।