अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौँ आप्रवासीलाई अमेरिकाबाट निकाल्ने विषयलाई खुबै महत्त्व दिइरहेका छन् । त्यसका लागि ट्रम्पले पानामा, ग्वाटेमाला, एल साल्भाडोर र कोष्टारिकालाई अन्य देशका आप्रवासीलाई ग्रहण गर्ने गरी सहमत गराइसकेका छन् ।
ट्रम्पले सत्ता सम्हालेसँगै इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट आईसले समेत देशव्यापी रूपमा व्यापक छापा मारिरहेको छ । यसले अमेरिकामा रहेका नेपालीसहितका आप्रवासीहरूमा ठुलो भय समेत सिर्जना गरेको छ ।
तर तथ्याङ्कले भने ट्रम्पले अघिल्ला राष्ट्रपति जो बाइडेनको पालामा जति पनि आप्रवासी देश निकाला गर्न नसकेको देखाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार ट्रम्पले सत्ता सम्हालेको एक महिनामा ३७ हजार ७६० जना आप्रवासी देश निकालामा परेका छन् । जबकि बाइडेनको अन्तिम वर्षको शासनमा मासिक ५७ हजार आप्रवासी देश निकालामा पर्ने गरेका थिए ।
ट्रम्पको शपथको एक हप्तासम्म आईसले औसतमा दैनिक ८ सय देखि १२ सय आप्रवासीलाई पक्राउ गरेको थियो । तर त्यसपछि भने दैनिकरुपमा औसत ६६७ जना आप्रवासी मात्रै पक्राउ परिरहेका छन् ।
यसले ट्रम्पको चर्को हल्लाका माझ अमेरिकामा देश निकालामा पर्ने आप्रवासीको दर झन् सुस्त भएको देखाएको छ ।
ट्रम्प प्रशासन यस बारेमा जानकार र असन्तुष्ट समेत छ । त्यसैले हालै आईसका प्रमुख कालेब भिटेलोलाई जिम्मेवारीबाट हटाइएको छ र नयाँ प्रमुखको खोजीमा छ ।
तर आईस र बोर्डर सेक्युरिटी फोर्ससँग बजेट सीमित छ र पर्याप्त डिटेन्सन क्याम्पहरू समेत बनिसकेका छैनन् । जसले गर्दा विज्ञहरूले आप्रवासी पक्राउ र देश निकालाको रफ्तार तत्कालै बढिहाल्ने सम्भावना न्यून रहेको बताएका छन् ।