क्यानडामा नयाँ प्रधानमन्त्री

क्यानडामा गैर राजनैतिक पृष्ठभूमिका मार्क कार्नी नयाँ प्रधानमन्त्री

आप्रवासन आप्रवासन

क्यानडाको सत्तारूढ लिबरल पार्टीले नयाँ नेताका रूपमा मार्क कार्नीलाई चयन गरेको छ । योसँगै कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

क्यानडामा पहिलो पटक कुनै राजनीतिक पृष्ठभूमि नभएको व्यक्ति प्रधानमन्त्री बन्न लागेको बताइएको छ । यद्यपि, उनी अर्थतन्त्रमा राम्रो ज्ञान र पकड भएका अनुभवी व्यक्ति हुन् । उनी बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्व गभर्नर हुन् ।

कार्नीले रोजगारी बढाउने, आवास सङ्कट समाधान गर्ने र अर्थतन्त्रलाई लयमा फर्काउने वाचा गरेका छन् ।

कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गर्दै ट्रम्पको नीतिहरूको विरोध समेत गर्दै आएका छन् ।

पछिल्लो समय क्यानडामा जनसङ्ख्या वृद्धि, बेरोजगारी, आप्रवासी तथा आवासजन्य समस्याहरू बढ्दो छ ।

यसबाहेक, सबैभन्दा ठुलो व्यापार साझेदार अमेरिकासँग सम्बन्ध चिसिएको छ । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउनु पर्ने बताउँदै आएका छन् । ट्रम्पले क्यानडाका विभिन्न बस्तुहरूमा करको घोषणा समेत गरेका छन् । जवाफमा, क्यानडाले समेत अमेरिकामाथि कर लगाएको छ ।

जसको प्रत्यक्ष असर क्यानडाको अर्थतन्त्रमा देखा पर्न थालेको छ।

यी कुराहरूले गर्दा क्यानडाका जनतासँगै त्यहाँ रहेका नेपालीसहितका आप्रवासीहरू ठुलो छटपटीमा छन् ।