एच–वानबी भिसा

अमेरिकाले खुलायो नेपालीसहित ८५ हजार कामदार भित्र्याउने प्रक्रिया

आप्रवासन आप्रवासन

अमेरिकाले सन् २०२६ मा एच–वानबी भिसामार्फत नेपालीसहित ८५ हजार कामदारलाई रोजगारीका लागि भिसा दिने पक्रिया अघि बढाएको छ ।

एच–वानबी भिसा रोजगारमूलक अस्थायी गैर आप्रवासी भिसा हो । अमेरिकाले हरेक वर्ष लटरी प्रक्रियामार्फत विभिन्न देशका दक्ष कामदारलाई लैजाने गरेको छ ।

एच–वानबी भिसाका लागि स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरू योग्य हुनेछन् । विशेष गरी इन्जिनियर, डाक्टर, प्राविधिक तथा आइटी क्षेत्रका विज्ञहरूलाई प्राथमिकता दिइनेछ।

आवेदन दर्ता मार्च २४ सम्म खुला रहनेछ, जसका लागि शुल्क २१५ अमेरिकी डलर तोकिएको छ ।

यद्यपि, यो भिसाका लागि व्यक्तिगत रूपमा आवेदन दिन भने मिल्दैन । आवेदन प्रक्रियाका लागि अमेरिकामा रहेका रोजगारदाता कम्पनी वा तिनका आधिकारिक प्रतिनिधिले मात्र अनलाइनमार्फत आवेदन दर्ता गर्न सक्नेछन् । दर्ता प्रक्रिया पूरा भएपछि लटरी प्रणालीमार्फत छनोट गरिनेछ, जसअन्तर्गत छनोट भएका उम्मेदवारहरूलाई अन्तर्वार्ताका लागि बोलाइनेछ ।

सुरुमा तीन वर्षका लागि प्रदान गरिने यो भिसाको अवधि आवश्यकताअनुसार अधिकतम छ वर्षसम्म थप्न मिल्छ ।

एच–वानबी भिसा सन् १९९० को अध्यागमन ऐनअन्तर्गत लागू गरिएको हो ।

विशेष गरी आइटी, गणित, इञ्जिनियरिङ र मेडिकल विज्ञान जस्ता क्षेत्रका दक्ष कामदारहरू यसमार्फत अमेरिका जाने गरेका छन् ।