गएको फेब्रुअरी महिनामा झन्डै एक लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले फेब्रुअरीमा मा ९६ हजार ८८० अन्तर्राष्ट्रिय पर्यटक मुलुक भित्रिएको जनाएको हो ।
फेब्रुअरीमा सबैभन्दा धेरै अर्थात् १९ हजार १८७ पर्यटक भारतबाट आएका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट १० हजार ३४८ र चीनबाट ८ हजार २३२ पर्यटक भित्रिएका छन् । त्यसपछि थाइल्यान्ड, युके, बङ्गलादेश र श्रीलङ्काबाट धेरै पर्यटक आएका छन् ।
यो फेब्रुअरीमा अघिल्लो वर्षको फेब्रुअरीको हाराहारीमा पर्यटक भित्रिएका हुन् । सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल आएका थिए ।
सन् २०२३ को फेब्रुअरीमा यो सङ्ख्या ९९ हजार ४२६ थियो । तर कोभिड महामारी र त्यसपछिको निषेधाज्ञाका कारण सन् २०२२ मा ४५ हजार १०५ जना मात्र पर्यटक आएका थिए ।
पछिल्लो ४ वर्षको तथ्याङ्कले नेपालको पर्यटन क्षेत्र कोभिड महामारीअघिकै लयमा फर्किएको समेत देखाएको छ ।