बेलायतमा नेपाली विद्यार्थी

बेलायतमा नेपाली विद्यार्थीका चुनौती बढ्दै, आर्थिक संकटदेखि भिसा समस्यासम्म

आप्रवासन आप्रवासन

बेलायत सरकारले गैर कानुनी रूपमा बस्ने आप्रवासीमाथि कडाइ गरेपछि त्यहाँ रहेका हजारौँ नेपाली विद्यार्थी प्रभावित हुने देखिएका छन् । हालै सार्वजनिक अध्ययनअनुसार लन्डनमा १२ मध्ये एक व्यक्ति गैर कानुनी रूपमा बसिरहेको तथ्याङ्क उल्लेख छ। नेपाली विद्यार्थीमध्ये कतिपयले आर्थिक समस्याका कारण विश्वविद्यालयको शुल्क तिर्न नसक्ने अवस्था आएको छ ।

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले पाँच प्रमुख चुनौतीको सामना गरिरहेका छन् । 

पहिलो आर्थिक समस्या
बेलायतका विश्वविद्यालयहरूको ट्युसन शुल्क नेपालको तुलनामा निकै महँगो छ । त्यसमाथि महँगो जीवनयापन: विशेष गरी लन्डनमा कोठा भाडा, यातायात, खाना, स्वास्थ्य सेवा आदि अत्यन्त महँगो छ । विद्यार्थी भिसामा रहेका व्यक्तिहरूलाई सीमित घण्टा मात्र काम गर्न अनुमति छ (प्रायः हप्तामा २० घण्टा), जुन लागत धान्न अपर्याप्त हुन्छ । अझ विद्यार्थीहरूले पार्ट–टाइम काम खोज्न निकै सङ्घर्ष गरिरहेका छन् । 

दोस्रो भिसा र अध्यागमन सम्बन्धी समस्या
कलेज शुल्क तिर्न नसक्दा कतिपय विद्यार्थीको भिसा नवीकरण हुन सक्दैन । धेरै नेपाली विद्यार्थीहरू अध्ययन छोडेर गैर कानुनी रूपमा बस्न बाध्य भएका छन् । बेलायत सरकारले आप्रवासीहरूमाथि कडाइ गर्दे नयाँ अध्यागमन नीतिहरू ल्याउँदा विद्यार्थीमा समस्या बढेको हो । 

तेस्रो त मानसिक तनाव र स्वास्थ्य समस्या
नयाँ देश, नयाँ संस्कृति, र परिवारबाट टाढा हुँदा मानसिक तनाव बढ्न सक्छ । शिक्षा र कामको दबाबले मानसिक स्वास्थ्यमा पनि असर परिरहेको छ । उपज पछिल्लो समय बेलायतमा अध्ययनरत केही नेपाली विद्यार्थीले आत्महत्या गरेको घटना सार्वजनिक भएका छन् । 

चौथो भाषा र सांस्कृतिक अन्तर
भाषा समस्या: अङ्ग्रेजी राम्रो नभएमा कक्षा, काम र दैनिक जीवनमा समस्या पर्छ । सांस्कृतिक भिन्नता: नयाँ समाजसँग घुलमिल हुन गाह्रो पर्न सक्छ ।

पाँचौँ कन्सल्टेन्सी र एजेन्टको भ्रामक प्रचार
धेरै विद्यार्थीहरू राम्रो जानकारी नलिई एजेन्टहरूकै आधारमा बेलायत आउँछन्, जसका कारण बेलायत आइपुगेपछि वास्तविकता थाहा पाउँदा समस्या झेल्नुपर्छ ।