कतारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा कामदारलाई दैनिक ६ घण्टाभन्दा बढी काममा नलगाउने व्यवस्था गरेको छ । कतारको श्रम मन्त्रालयले निजी क्षेत्रका संस्थामा रमजानको महिनामा काम गर्ने समय घटाएको हो ।
तोकिएको समय अनुसार अब श्रमिकले साताको ३६ घण्टा र दिनमा बढीमा ६ घण्टा काम गरे पुग्ने छ । काम गर्ने समय ६ घण्टा भए पनि रोजगारदाताले पूरा दिनको तलब र सेवा सुविधा दिनुपर्नेछ ।
नियम सुपरभाइजर, क्लिनर, सुरक्षा गार्ड, अस्पतालका कर्मचारी तथा अत्यावश्यक कार्यक्षेत्रका कामदारबाहेक सबैमा लागू हुनेछ ।
अन्यलाई दिनको ६ घण्टाभन्दा बढी काममा लगाउनु परेको खण्डमा साबिकको तलबअनुसार २५ प्रतिशत प्रति घण्टाले भुक्तानी गर्नुपर्ने छ । तर त्यस्तो अवस्थामा पनि १० घण्टाभन्दा बढी काम लगाउन पाइने छैन ।
मन्त्रालयले तोकिएको भन्दा बढी काममा लगाउने रोजगारदातालाई कारबाही गरिने भन्दै उजुरी दिन अनुरोध समेत गरेको छ । मन्त्रालयको फोन नं +९७४-४०२८८८८८ वा फेसबुक वा एक्समार्फत उजुरी गर्न सकिने छ ।
कतारको पछिल्लो व्यवस्थाले त्यहाँ रहेका करिब ४ लाख नेपाली समेत प्रत्यक्ष लाभान्वित हुने छन् ।