साउदी अरबले एक हप्ताको अवधिमै १७ हजार बढी आप्रवासी कामदार पक्राउ गरेको छ । साउदीको गृह मन्त्रालयका अनुसार फेब्रुअरी २० देखि २६ सम्मको अवधिमा १७ हजार ३८९ जना गिरफ्तारीमा परेका हुन् ।
उनीहरूलाई साउदीको आवास, सीमा सुरक्षासँगै श्रम कानुन उलङ्घन गरेको अभियोगमा पक्राउ गरिएको मन्त्रालयले उल्लेख गरेको छ । जसमध्ये १० हजार ३९७ जनालाई आवासीय कानुन उलङ्घन गरेको आरोपमा लगाइएको छ । ४ हजार १२८ माथि सीमा सुरक्षा र २ हजार ८६४ जनामाथि श्रम कानुन पालना नगरेको अभियोग लगाइएको छ ।
पक्राउ पर्नेहरूमध्ये १० हजार ३६३ जना आप्रवासीलाई देश निकाला गरिएको छ ।
पछिल्लो समय साउदीले अवैध हैसियतमा रहेका आप्रवासी कामदारमाथिको धरपकड तीव्र पारेको छ । जसले गर्दा हरेक हप्ता हजारौँ आप्रवासी पक्राउ पर्दै आएका छन् ।
यद्यपि, यसरी पक्राउ र देश निकालामा पर्नेहरूमा नेपाली भए नभएको विवरण मन्त्रालयले खुलाएको छैन । साउदीमा करिब २ लाख ५० हजार नेपाली कार्यरत छन् ।