स्मार्टफोन अहिले केवल प्रविधिको साधन मात्र नभएर हाम्रो अभिन्न साथी बनिसकेको छ । बिहान उठ्ने बित्तिकै हाम्रो हातमा मोबाइल हुन्छ, दिनभर यसको साथ रहन्छ, अनि राति निदाउनुअघि अन्तिम नजर पनि यसैमा जान्छ ।
चाहे हाम्रा प्रियजनहरूसँगको सम्पर्क होस्, चाहे मनोरञ्जन वा कामकाज—मोबाइल फोन हाम्रो दिनचर्याको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । विशेष गरी, विदेशमा बस्ने नेपालीहरूका लागि त मोबाइल झन् जीवनको अनिवार्य साथी बनेको छ ।
टाढा रहँदा परिवारसँगको सम्पर्क, बैङ्किङ कारोबार, सूचना आदान–प्रदान सबै मोबाइलकै भरमा हुन्छ । तर, हामीले यसको स्याहारमा ध्यान दिएनौँ भने, यही प्रिय मोबाइलले हामीलाई ठुलो जोखिममा पार्न सक्छ । खास गरी, चार्ज गर्ने बानीमा गरिने केही गल्तीहरू खतरनाक हुन सक्छन् ।
मोबाइल चार्जिङ गर्दा ध्यान दिनुपर्ने कुराहरू
–मोबाइल लामो समय चार्ज नगरौँ : सामान्यतया, तीन घण्टाभन्दा बढी समयसम्म फोन चार्जमा जोड्नु हानिकारक हुन सक्छ । रातभर फोन चार्ज गरेर छोड्ने बानी छ भने, तुरुन्तै परिवर्तन गर्न आवश्यक छ ।
–नक्कली चार्जर वा पावर बैङ्कको प्रयोग नगर्नुहोस् : बजारमा पाइने सस्तो र डुप्लिकेट चार्जरले ब्याट्रीलाई दीर्घकालीन रूपमा असर पु¥याउन सक्छ। सुरक्षित र कम्पनीले प्रमाणित चार्जर मात्र प्रयोग गर्नुहोस् ।
–चार्ज भइरहेका बेला मोबाइल प्रयोग नगर्नुहोस् : फोन चार्ज भइरहेका बेला गेम खेल्ने वा भिडियो हेर्ने बानी भए, त्यसलाई तुरुन्तै त्याग्नुपर्छ। यसले ब्याट्रीलाई अनावश्यक ताप दिन्छ, जसले फोनको आयु घटाउन सक्छ ।
–चार्ज लाउँदै फोनमा कुरा नगर्नुहोस् : चार्ज भइरहेको मोबाइलमा फोन कल गर्दा उच्च इलेक्ट्रोम्याग्नेटिक वेभ निस्कन्छ, जसले मानव शरीरमा हानिकारक असर पार्न सक्छ ।
यस्ता रेडिएसनले दीर्घकालीन रूपमा हाम्रो स्वास्थ्यमा असर पार्न सक्छ । चार्ज गरिरहेको बेला विद्युत् सर्टको खतरासमेत रहन्छ । केही घटनामा, चार्ज भइरहेको बेला मोबाइल पड्किएको घटनाहरू देखिएका छन्। गलत चार्जिङ बानीले आगलागी वा अन्य गम्भीर दुर्घटनाको जोखिम बढाउन सक्छ ।