कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका घरहरूको बीमा गर्ने योजना ल्याएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले हालै घर बीमा कार्यविधि ०८१ स्वीकृत गरेको हो, जसअनुसार ९ प्रकारका विपद्बाट क्षतिग्रस्त घरहरू बिमामा समेटिने छन् । भूकम्प, आगलागी, बाढी तथा डुबान, जमिन धसिने वा भासिने, हावाहुरी, चट्याङ, असिनापानी, हवाई दुर्घटना तथा अन्य प्राकृतिक विपद्बाट क्षति भएका घरहरूलाई बीमाको दायरामा अटाउने छन् ।
१५ दिनभित्रै बिमा शुल्क भुक्तानी
घर बीमा कार्यविधि अनुसार, प्रदेश सरकारले प्रत्येक एकाघर परिवारको एउटा घरको बीमा शुल्क भुक्तानी गर्नेछ। अधिकतम २० लाख बीमाङ्क बराबरको जोखिम मूल्याङ्कन अनुसार बीमा शुल्क प्रदेश सरकारले बेहोर्नेछ। यदि २० लाखभन्दा बढी मूल्यको घर भएमा वा परिवारसँग एकभन्दा बढी घर भएमा अतिरिक्त बीमा शुल्क सम्बन्धित घरधनीले स्वयं व्यहोर्नुपर्नेछ। आवश्यक प्रक्रिया पूरा भएपछि १५ दिनभित्रै बीमा शुल्क भुक्तानी गरिने छ ।
विदेशमा रहेका कर्णालीबासीका लागि सुरक्षित भविष्य
विदेशमा रहेका कर्णालीबासी नेपालीहरूका लागि यो बीमा कार्यक्रम महत्वपूर्ण रहन सक्छ । विशेष गरी विदेशमा रहेका धेरैले आफ्नो जन्मथलोमा बनाएका घरलाई सुरक्षित राख्न चाहन्छन्।
विदेशमा रहँदा प्राकृतिक विपद्का कारण घरमा हुने क्षतिबाट चिन्तित हुनु पर्दैन । यदि घर बिमित छ भने, क्षतिको अवस्थामा बीमा रकमबाट पुनर्निर्माण वा मर्मत गर्न सहयोग पुग्नेछ ।
विदेशमा रहेका कर्णालीबासीले आफ्नो घरको बीमा गराउन चाहने भएमा, परिवारका सदस्य वा प्रतिनिधिहरूले स्थानीय तहबाट सिफारिस गराएर बीमा प्रक्रियामा सहभागिता जनाउन सक्छन्।बीमा प्रक्रिया अघि बढाउन स्थानीय तहबाट सिफारिस अनिवार्य गरिएको छ ।
बीमा भुक्तानीका लागि स्थानीय तहको सिफारिस र बीमकले उपलब्ध गराएको डेबिट नोट आवश्यक पर्नेछ । बीमा शुल्क भुक्तानी प्रदेश सरकारले १५ दिनभित्रै गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।