राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग भएका ४ मध्ये ३ वटै जहाज एकैसाथ थन्किएका छन् । नेपाल एयरलाइन्सका दुई न्यरोबडी र एउटा वाइडबडी जहाज ग्राउन्डेड भएका हुन् ।
निगमसँग १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न १ सय ५७ सिट भएका २ न्यरोबडी र २ सय ७४ सिट क्षमताका २ वाइड बडी जहाज छन् । तर गएको एक हप्तायता जहाजसँगै मर्मतको भुक्तानीमा समस्या आउँदा एकै पटक ३ वटा जहाज थन्किएका हुन् ।
जसमध्ये चीनमा मर्मतका लागि गएको सगरमाथा न्यरोबडीको भुक्तानी निगमले गर्दा उतै थन्किएको छ । उता, ४ दिन साउदीको दमाममा थन्किएको लुम्बिनी न्यरोबडी काठमाडौँमा अवतरण भएपछि पुन समस्या देखिएको छ । अर्कोतर्फ, बुधवार मात्रै अन्नपूर्ण वाइड बडी जहाज दिल्लीबाट मर्मत गराएर ल्याइए पनि इन्धनसम्बन्धी नयाँ समस्या देखा परेको छ ।
भएका चारमध्ये ३ वटा जहाज थन्किएपछि मलेसिया, दोहा, दुबई, बैंकक, दमाम लगायतका गन्तव्यका दुईतर्फी उडान रद्द भएका छन् । जसले गर्दा टिकट काटेर उडानको पर्खाइमा रहेका २ हजार यात्रु अलपत्र परेका छन् ।
उनीहरूलाई निगमले होटलमा राखे पनि विकल्प भने दिन सकेको छैन । जसले गर्दा राम्रो कमाई हुने सिजनमा आम्दानी त रोकिएको छ नै उल्टो यात्रुहरूको खर्च समेत तिर्नुपर्ने भएको छ ।
यसले निगमभित्रको चरण लापरबाही र नेतृत्वको असक्षमता समेत उजागर गरेको छ ।