महाशिवरात्रि विश्वभरीका हिन्दुहरूका लागि विशेष पर्व हो । नेपालमा विशेष गरीका पशुपतिनाथ मन्दिरमा यस अवसरमा लाखौँ भक्तजनको भीड लाग्ने गर्दछ । शिवरात्रिलाई भोग र मोक्ष दुवै प्राप्त गर्न सकिने पर्वका रूपमा लिइन्छ ।
आर्थिक दृष्टिले महाशिवरात्रिले नेपालको पर्यटन उद्योगलाई ठुलो टेवा पुर्याउछ । भारत, मलेशिया, इन्डोनेसिया, मौरिसस लगायतका मुलुकबाट हजारौँ तीर्थालुहरू नेपाल आउने हुँदा होटेल, यातायात, र स्थानीय व्यवसायहरूमा आर्थिक चहलपहल बढ्छ ।
पशुपतिनाथ मन्दिरमा भेटी, दान, र अन्य माध्यमबाट करोडौँ रुपैयाँ भित्रिन्छ । साथै छिमेकी देश भारतबाट शिवरात्रिको अवसरमा साधु सन्तको आगमनले नेपाल, भारतको सम्बन्धको महत्वलाई पनि दर्साउछ ।
यसबाहेक, पशुपतिनाथलाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने ठुलो सम्भावना छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्दै आधुनिक सेवा–सुविधा विस्तार गर्न सके नेपालले थप विदेशी तीर्थालुहरूलाई आकर्षित गर्न सक्छ ।
युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके नेपालले धार्मिक पर्यटनबाट ठुलो लाभ लिन सक्छ । पशुपति क्षेत्रलाई महाशिवरात्रिमा मात्र सीमित नराखी वर्षभरि नै धार्मिक पर्यटन केन्द्रको रूपमा प्रवर्द्धन गर्न सकिन्छ।
त्यसका लागि पशुपतिको सांस्कृतिक र धार्मिक महत्त्व डिजिटलसँगै सबै माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जरुरी छ । यस्तै, वाग्मती सफाइलाई तिब्रता दिँदै पशुपति क्षेत्रमा पर्यावरणमैत्री धर्मशाला, स्वच्छ पानी तथा जैविक खाद्य परिकार उपलब्ध गराउन आवश्यक छ ।
यसमार्फत विश्वभरिका १ अर्ब बढी हिन्दुहरुमा कमसेकम एक पटक पशुपतिनाथ आउनै पर्ने भाव पैदा गराउन सकिन्छ । जसले नेपालको अर्थतन्त्र सुधार र रोजगारी सिर्जनामा उल्लेखनियक योगदान पुर्याउने छ ।