अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउन चाहन्छन् । ट्रम्प पछिल्ला दिनमा सामाजिक सञ्जालमा लेखेर होस् वा सार्वजनिक कार्यक्रममा बोल्दा नै किन नहोस्, यो कुरा दोहार्याइरहन्छन् । कतिपयले यसलाई ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई होच्याउन र मजाक उडाएको ठानेका छन् ।
कतिपयको नजरमा भने यो क्यानडामाथि दबाब बढाएर आफू अनुकूल निर्णय गराउन ट्रम्पले चालेको रणनीतिको हो । ट्रम्पले भने आफू क्यानडालाई अमेरिकामा गाभ्ने कुरामा गम्भीर भएको दाबी गर्दै आएका छन् । तर के ट्रम्पले भने जस्तो क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउन सम्भव छ ? यस भिडियोमा हामी यसै विषयमा चर्चा गर्न गइरहेका छौँ । सबैभन्दा पहिले क्यानडालाई अमेरिकी राज्य बनाउन किन आवश्यक छ भन्ने ट्रम्पको तर्क बुझौँ । ट्रम्पको बुझाइमा अमेरिकाले क्यानडाको सुरक्षा र अनुदानमा अर्बौँ डलर खर्च गरिरहेको छ । यसले अमेरिकालाई मात्र नोक्सान भइरहेको छ । त्यसका कारण ट्रम्प क्यानडालाई ५१औँ राज्य बनाउन सके अमेरिकाको अरबौँ डलर खर्च जोगिने र सुरक्षा मजबुत हुनेमा विश्वस्त छन् । अब ट्रम्प चाहेको जस्तै हुन कुन पक्रियाहरु आवश्यक हुन्छ र त्यो कति सम्भव छ त्यसबारे चर्चा गरौँ ।
१. क्यानडा र अमेरिका बिचको सम्झौता
यदि अमेरिकाको ससंद, क्यानडाको सङ्घीय र प्रादेशिक संसदहरु बिच अमेरिकी राज्यका रूपमा स्थापित बन्ने र बनाउने कुनै सम्झौता भए यो सम्भव छ । तर यो निकै जटिल पक्रिया हो । यसका लागि अमेरिकी र क्यानडाको सङ्घीय संसद् राजी भएर मात्र पुग्दैन । क्यानडाका १० वटै राज्यहरू समेत तयार हुनुपर्दछ । तर क्यानडाका प्रदेशहरूलाई निकै सार्वभौम छन् । खास गरी, क्युबेक राज्यले त क्यानडाभित्रै रहेर छुट्टै देशझैँ शासन चलाइरहेका छन् । यसबाहेक क्यानडाका नागरिक के चाहन्छन् भन्ने अर्को महत्त्वपूर्ण प्रश्न छ ।क्यानडाका नागरिकहरू प्रायः आफ्नो राजनीतिक, सांस्कृतिक र सामाजिक स्वतन्त्रतामा गर्व गर्छन् र अमेरिकामा विलीन हुने विचारको विरोधमा छन्। यस्तै, क्यानाडेली नागरिकको विचार शैली, भाषा, स्वास्थ्य सेवा प्रणाली र बन्दुक नियन्त्रण जस्ता बिच निकै ठुलो अन्तर छ । यस्तोमा दुई मुलुकबिच सम्झौता भएर अमेरिकामा गाभिने कुनै सम्भावनाको गुन्जाइस छैन ।
२. क्यानडा खरिद
अमेरिकाले क्यानडालाई किनेर आफ्नो ५१औँ राज्य बनाउन सक्ने विकल्प अघि सार्न सक्छ । अमेरिकाले अलस्का राज्य रुसबाट किनेर आफ्नो राज्य बनाएको उदाहरण समेत छ । सन् १८६७ मा अमेरिकाले रुसबाट अलस्कालाई ७ दशमलव २ मिलियन डलरमा खरिद गरेको थियो । आजको विनिमयमा त्यो दाम करिब १२९ मिलियन डलर हुन्छ । ट्रम्पले ग्रिनल्याण्ड किन्ने योजना समेत बुनेका छन् । तर देश नै किन्ने योजना निकै अव्यवहारिक छ । किनभने कुनै पनि देशको मूल्य तोक्ने आधारहरू जटिल हो । पछिल्ला वर्षहरूमा एक देशले अर्को देश नै किनेको दृष्टान्त समेत छैन । फेरि, त्यसका लागि क्यानडाले आफूलाई बेच्न तयार समेत हुनुपर्दछ । क्यानडाले आफू बिक्रीको वस्तु नभएको स्पष्ट पारिसकेको छ । यस्तोमा यो विकल्प समेत असम्भव छ ।
३. सेनामार्फत कब्जा
ठुलो सीमा र व्यापारमा धेरै हदसम्म अमेरिकामा निर्भर क्यानडा अमेरिका भन्दा निकै कमजोर समेत छ । यस्तोमा क्यानडा कब्जा गरेर आफूमा गाभ्ने अन्तिम विकल्प अमेरिकासँग छ । तर यो पनि अत्यन्तै जटिल विषय हो । सेनाको प्रयोग र कब्जाका लागि अमेरिकी ससंदको स्वीकृतिसँगै संवैधानिक संशोधन समेत आवश्यक पर्न सक्छ । यसबाहेक, ठुलो राजनीतिक अभियान र बहस समेत आवश्यक पर्छ । राजनैतिक रूपमा जे जस्तो भए पनि दुई मुलुकका जनता बिच निकै सुमधुर सम्बन्ध छ । त्यसैले अमेरिकी जनताले यो विकल्पमा सघाउने सम्भावना न्यून छ । तर निकै सन्की मानिएका ट्रम्पले तमाम अवरोधका विपरीत युद्ध छेडिहाले भने ब्रिटेन, फ्रान्स, जर्मनी जस्ता क्यानडाका असल मित्रहरू र अमेरिका आमनेसामने हुने स्थिति बन्न सक्छ । त्यसले अमेरिका भित्र समेत भद्रगोल पैदा गर्न सक्छ । त्यसैले यी तमाम परिस्थितिका माझ क्यानडाका अमेरिकाको ५१औँ राज्य बन्ने सम्भावना कतै देखिँदैन । तर ट्रम्पको लगातारको अभिव्यक्तिले २ मुलुकबिच कूटनीतिक र व्यापारिक तनाव बढाउने भने निश्चित छ।