मलेसियामा वैधानिक रूपमा ३ लाख ७० हजार १२७ नेपालीले मात्र काम गरिरहेका पाइएको छ । मलेसियाका सांसद जमालुद्दिन याह्याले संसदमा सोधेको प्रश्नको जबाफ दिने क्रममा मलेसियाका मानव संशोधन मन्त्री स्टिभन सिमले मलेसियामा वैधानिक तवरले कार्यरत नेपाली कामदारको सङ्ख्या उपलब्ध गराएका हुन् ।
मलेसियामा करिब ५ लाख नेपाली रहेको अनुमान छ । तर मन्त्री सिमले उपलब्ध गराएको आँकडाले मलेसियामा ठुलो सङ्ख्यामा अवैध हैसियतमा नेपालीहरू रहेको बुझ्न सकिन्छ ।
यद्यपि, हाल वैधानिक नेपालीको यो सङ्ख्या मलेसियामा कार्यरत विदेशी कामदारमध्ये तेस्रो सर्वाधिक हो ।
मलेसियामा सबैभन्दा धेरै बङ्गलादेशका ८ लाख ९८ हजार ९७० र इन्डोनेसियाका ५ लाख ८२ हजार १०८ कामदार कार्यरत छन् । मलेसियामा गत डिसेम्बरसम्ममा विदेशी कामदारको सङ्ख्या २३ लाख ३८ हजार ४२२ छ ।
विदेशी कामदारको सङ्ख्या कुल कामदारको १४ प्रतिशत हो ।
मलेसियाको राष्ट्रिय योजना आयोगले कुल कामदारको बढीमा १५ प्रतिशतसम्म विदेशी कामदारको राख्नुपर्ने नीति बनाएको छ । जसले गर्दा हाल मलेसियामा नेपालीसहितका विदेशी कामदारका लागि नयाँ रोजगारी निकै सीमित छ ।