अमेरिकाबाट पानामा पुर्‍याइएका ३ नेपालीको अवस्था दयनीय

अमेरिकाबाट पानामा पुर्‍याइएका ३ नेपालीको अवस्था दयनीय

आप्रवासन आप्रवासन

अमेरिकाबाट पानामा पठाइएका ३ नेपालीको अवस्था दयनीय रहेको बताइएको छ । समाचार संस्था एपीले पानाको विदेश मन्त्रालयलाई उद्धृत गर्दै अमेरिकाले पठाएका आप्रवासीको अवस्था दयनीय रहेको बताएको हो ।

एक साताअघि अमेरिकाले ३ जना नेपालीसहित ११९ जना आप्रवासीलाई देश निकाला गरी पानामा पठाएको थियो । त्यसपछि थप २ उडानमार्फत पठाइएका आप्रवासी समेत जोड्दा हाल सो सङ्ख्या २९९ पुगेको छ ।

पहिलो उडानमा ३ नेपाली समेत रहेको पुष्टि पानामाको विदेश मन्त्रालयले गरेको थियो । तर त्यसपछिका अन्य उडानमा थप नेपालीलाई पठाइएको बारे यकिन छैन ।

पानामा पुर्‍याइएका मध्ये ९७ जनालाई डारिएन क्षेत्रमा पुर्‍याइएको मन्त्रालयले जनाएको छ । उनीहरूको अवस्था के छ भन्ने अज्ञात छ भने उनीहरूले आफ्नो देश फर्कन अस्वीकार गरेको बताइएको छ ।

होटेलमा राखिएकाहरूलाई बाहिर निस्कन अनुमति दिइएको छैन । होटेलमा थुनिएका सबै आप्रवासीहरूको अवस्था धेरै दयनीय भएको बताइएको छ ।

केही आप्रवासीहरूले  ‘मलाई मद्दत गर्नुहोस् भनेर सादा कागजमा लेखिएको सन्देश हातले बोकेर होटेलको झ्यालहरूमा उभिरहेको देखिएको थियो ।

पानामा विदेश मन्त्रालयले पुष्टि गरिसक्दा पनि त्यहाँ फसेका नेपालीका विषयमा नेपाल सरकारले भने पहलकदमी लिएको छैन ।