आफू बसेको ठाउँबाट कल्पना नै गर्न नसकिने भिड महाकुम्भमा छ । गङ्गा स्नान, आरती, भजन कीर्तन, भोजन, साधु सन्त ज्ञान, पण्डाल आँखाले समेट्न नसक्ने दृश्य र चहलपहल छ प्रयागराजमा ।
पुस २९ गतेदेखि सुरु महाकुम्भ मेला फागुन १४ गतेसम्म चल्नेछ ।
१ सय ४४ वर्षपछि भइरहेको भनिएका महाकुम्भमा भारतीयसँगै अन्य देशका हिन्दु धर्मावलम्बी एक पटक भए पनि सरिक हुन पाउनु सौभाग्य मानिरहेका छन् । तर यो महाकुम्भ मेलाले धर्म, सनातन, अध्यात्म र पापबाट मोक्षको मात्रै अर्थ राखेको छैन ।
भारतले कुम्भ मेलामा कलाकार,राजनीतिज्ञदेखि सोसल मिडिया इन्फ्लुयन्सरलाई जोडेको छ । भारतले भुटानका राजादेखि विभिन्न देशका राजदूतलाई उक्त अवसरमा सरिक गराइरहेको छ । यसले यो मौकाबाट धार्मिक कूटनीति गरिरहेको बुझ्न सकिन्छ ।
तर यसको अर्को पाटो अझ रोचक छ । त्यो हो आर्थिक पाटो । महाकुम्भका लागि केन्द्र सरकारको २ हजार १ सय करोड भारतीय रुपैयाँ र उत्तर प्रदेश सरकारबाट ५ हजार ४ सय करोड गरी जम्मा ७ हजार ५ सय करोड भारतीय रुपैयाँ छुट्टाएको छ । महाकुम्भको लागि तोकिएको यो रकम आफैँमा अद्भुत छ ।
अनि के यो रकम भारतले धार्मिक कार्यको लागि खर्च मात्रै गरिरहो हो ? होइन यो उसको लगानी हो । लगानी पनि यस किसिमको लगानी जसको माध्यमबाट रिटर्नमा सरकार मात्रै होइन जनतासम्मलाई फलिफाप हुने छ ।
प्रयागराजको त्रिवेणी सङ्गममा यति बेला खुद्रा व्यापारीदेखि ठुला कर्पोरेट हाउससम्म पुगेका छन् । हरेक सहरका होर्डिङ बोर्डमा महाकुम्भको पर्चा लगाइएका छन् । भारतले हरेक वर्ष विभिन्न देशका धार्मिक पर्यटकलाई आकर्षित गर्छ । हिन्दु ग्रन्थका चार धाम, विभिन्न घाटको रौनक, दक्षिण भारतका अद्भुत मठमन्दिर भारतको स्थायी सम्पत्ति हुन् ।
अझ महाकुम्भलाई उसले सफ्ट पावर रूपमा अर्थ्याउने प्रयास गरेको छ । प्रयागराज पुग्ने एक जनाले कम्तीमा पाँच हजार भारतीय रुपैयाँ खर्च गर्छन् ।
हाल दैनिक एक करोड मानिस प्रयागराज आवतजावत गर्छन् भन्ने अनुमानित तथ्याङ्क छ । भारतका विभिन्न प्रदेशसँगै अर्को मुलुकबाट प्रयागराज पुग्ने धार्मिक पर्यटक महाकुम्भको स्नान पछि बनारस, अयोध्या लगायतको क्षेत्रमा पनि पुगिरहेका छन् । जस कारण त्यस क्षेत्रका होटेल र ट्राभल साना बजारहरूमा पर्यटकको घुइँचो छ ।
भारत सरकारले महाकुम्भ कारण भारतको अर्थतन्त्रमा दुई लाख करोड भारतीय रुपैयाँ योगदान पुग्ने अपेक्षा गरेको छ । उत्तर प्रदेशको कुल गार्हस्थ्य उत्पादन जिडिपीमा मात्रै महाकुम्भका कारण १ प्रतिशत बढ्ने अनुमान छ ।
आउनु महाकुम्भसँग जोडिएको अर्थतन्त्रको हिसाबलाई अझ प्रस्ट भएर बुझौँ ।
भारत सरकारले सेयर गरेको तथ्याङ्क अनुसार हरेक दिन अत्यावश्यक सामानको व्यापार मात्रै १७ हजार करोड भारतीय रुपैयाँको भइरहेको छ । खाद्य र पेय पदार्थको बिक्री मात्रै २० हजार करोड, होटेल, र ट्राभल क्षेत्रले मेला अवधिभर २ हजार ८०० करोड भारतीय रुपैयाँ बराबरको व्यापार गर्ने अनुमान छ ।
यस्तै धार्मिक सामानहरूको बिक्रीले २ हजार करोड र फूलहरुको व्यापारबाट ८०० करोड रुपैयाँ उठ्ने अनुमान छ । यहाँ भनिरहेको रकम बराबरको व्यापार दैनिक हुने व्यापार अनुमान हो । यसैबाट सोच्न सकिन्छ । महाकुम्भ भारतको सफ्ट पावर लन्च हो ।
कुम्भ मेलामा व्यापारीको भूमिकामा नरहेका सर्वसाधारणले प्रत्यक्ष लिइरहेको फाइदा के हो? अब अनुमान गरौँ ।
हाम्रो सोसल मिडियाको फर यू पेजमा आएका कन्टेन्टहरूमा कति कुम्भ मेलाका कन्टेन्ट छन् ? याद गर्ने हो भने हरेक तेस्रो भिडियो वा प्रसङ्गमा कुम्भ भेला छ । कुम्भ मेलामा पुगेर स्नान गर्नेहरूको तस्बिर भिडियो चल्तीमा छ । एकै पटक त्यस्ता भिडियोले लाखौँमा भ्यूज आउँछ । त्यस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रत्यक्ष फाइदा लिइरहेका छन् ।
बेला बेला हुलदङ्गा, आगलागी, भिआइपी र सर्वसाधारण बिचमा गरिएको फरक चर्चा चलेका पनि छन् तर महाकुम्भ अवसरले स्थानीय व्यापारीको आम्दानीमा बढोत्तरी पक्का गरेर बसेका छन् । नयाँ तथा अनौठो छविका मानिस त अहिले सेलिब्रेटी भइसकेका छन् । बाबा, व्यापारी, सन्न्यासी सबैलाई सोसल भिडियाले चर्चामा ल्याइदियो ।
भारतको धार्मिक पर्यटनको चर्चा मात्रै किन, उस्तै भूगोल, परिवेश मिल्दो जुल्दो परम्परा, संस्कृतिसँगै सबैभन्दा महत्त्वपूर्ण पक्ष विश्व हिन्दु धार्मिक पर्यटकको आस्थाको केन्द्र नेपाल पनि हो । पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुर, गुह्येश्वरी, स्वयम्भू, बौद्धनाथजस्ता स्थान धार्मिक पर्यटकका लागि आकर्षणका केन्द्र हुन् । यदि नेपालले धार्मिक तथा सांस्कृतिक महोत्सवलाई राम्रोसँग व्यवस्थापन गरेमा ठुला आर्थिक लाभहरू लिन सकिन्छ ।
नेपालसँग पनि धार्मिक पर्यटक जमघट गराउन सक्ने परम्परागत पर्व थुप्रै छन् । अझ काठमाडौँ उपत्यकाभित्रका नेवार समुदायका यी जात्राहरूलाई अन्तर्राष्ट्रियकरण गरेर ठुलो जमघट गराउन सकिन्छ । जसबाट आर्थिक लाभ प्रत्यक्ष देखिन्छ ।
यस्तै नेपाललाई ’धार्मिक पर्यटन हब’ बनाउन भारत र अन्य मुलुकसँग मिलेर नेपाल–भारत–बुद्धिस्ट सर्किट बनाउने, नेपालका ऐतिहासिक धार्मिक स्थलहरूको पुनर्निर्माण, प्रवर्द्धन र संरक्षण गर्ने, महाकुम्भ मेलाको जस्तै बृहत् धार्मिक महोत्सव आयोजना गरेर अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन नेपालले भारतको महाकुम्भबाट पाठ सिक्न सक्छ ।
महाकुम्भ मेलाले भारतको अर्थतन्त्रमा ठुलो प्रभाव पारेझैँ नेपालले पनि धार्मिक पर्यटनलाई व्यवस्थित गर्दै आर्थिक लाभ लिन सक्छ। पूर्वाधार सुधार, अन्तर्राष्ट्रिय प्रवर्द्धन, डिजिटल प्रविधिको प्रयोग र स्थानीय समुदायलाई संलग्न गराएर धार्मिक पर्यटनलाई थप व्यावसायिक बनाउन सकिन्छ ।
नेपालले कुम्भ मेलाबाट पाठ सिकेर धार्मिक मेलालाई केवल आस्थासँग मात्र नभई अर्थतन्त्र प्रवर्द्धन गर्ने सुनौलो अवसरको रूपमा लिनुपर्ने आवश्यकता छ ।