हमासले अपहरित बन्धकहरूको रिहाइ स्थगन गर्ने घोषणा गरेको छ । इजरायलले युद्ध विराम सम्झौता पालना नगरेको भन्दै हमासले थप बन्धक रिहा नगर्ने बताएको हो । हमासले इजरायलले गाजामा गोलाबारी जारी राखेर युद्ध विराम सम्झौता उलङ्घन गरेको भन्दै अर्को सूचना जारी नभएसम्म बन्धक रिहाइ नगर्ने जनाएको छ । इजरायलले भने हमासको यस कदमलाई युद्ध विराम सम्झौता उलङ्घन भनेको छ । पूर्व सम्झौता अनुसार आगामी शनिबार थप बन्धकहरूको रिहाइ गरिने तालिका थियो । तर यी दुई बिचको पछिल्लो तिक्तताले गत जनवरी १९ मा भएको युद्ध बिराममा नयाँ समस्या सिर्जित हुन पुगेको छ । जसले गर्दा हमासले अपहरण गरेर राखेको नेपाली विपिन जोशीको रिहाइ थप अनिश्चित बनेको छ । उता, पछिल्लो घटनाक्रमप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया दिएका छन् । ट्रम्पले हमासले बन्धकहरू रिहा नगरेमा युद्ध विराम अन्त्य भएको घोषणा गर्ने र हमासलाई निमिट्यान्न पार्ने चेतावनी दिएका छन् ।