क्यानडामा आज आम निर्वाचन हुँदै छ । उल्लेख्य सङ्ख्यामा नेपाली विद्यार्थी तथा श्रमिकहरू क्यानडामा रहेकाले त्यहाँको सङ्घीय चुनावलाई चासोका साथ हेरिएको छ ।
नेपालको समय क्यानडाको भन्दा ९ घण्टा ४५ मिनेटअघि छ । यसले गर्दा भोट हाल्ने तथा अन्य गतिविधि केही ढिलो गरी सुरु हुनेछ । क्यानडामा ३४३ सङ्घीय निर्वाचन क्षेत्रहरू छन् । जसलाई निर्वाचन क्षेत्र वा निर्वाचन जिल्ला पनि भनिन्छ।
प्रत्येक निर्वाचन क्षेत्रको तल्लो सदन अर्थात् हाउस अफ कमन्समा एउटा सिट हुन्छ । अर्थात् हाउस अफ कमन्सको प्रत्येक सिटको लागि चुनाव हुँदै छ ।
नेपालमा जस्तै क्यानडामा पनि धेरै भोट पाउने निर्वाचित हुने निर्वाचन प्रणाली छ। सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नेताले सरकार गठनको दाबी गर्छ । दोस्रो ठुलो दलले प्रमुख प्रतिपक्ष दलको दर्जा पाउँछ ।
नेपालमा जस्तै क्यानडामा पनि मतदाताहरूले संसद् सदस्यहरूलाई मतदान गर्छन् र त्यसरी छानिने सांसदले प्रधानमन्त्री चुन्छन् । क्यानडाको यस चुनावमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री मार्क कार्नीलेको लिबरल र पिएरे पोइलिव्रको कन्जरभेटिव पार्टी बिच छ ।
मत सर्वेक्षणले दुवै पार्टी बिच कडा प्रतिस्पर्धा हुने र झिनो मतान्तर रहने देखाएका छन् । मत गणना क्यानडाको आजै राती १० बजेबाट सुरु हुनेछ र त्यसपछि नतिजा आउन सुरु हुनेछ । अमेरिकासँग बढ्दो तिक्तताका माझ क्यानडामा नयाँ चुनाव हुन लागेको छ ।
चुनाव जित्ने दलका लागि अमेरिकासँग सन्तुलन कायम राख्नु मुख्य चुनौती हुनेछ । यसबाहेक क्यानडामा बढ्दो महँगी, हाउजिङ, स्वास्थ्य तथा आप्रवासी समस्या चुनावी नारा बनेका छन् ।
पछिल्ला वर्षहरूमा क्यानडामा नेपालीसहितका आप्रवासीहरूले महँगीसँगै हाउजिङ समस्या बढाएको भन्दै आप्रवासी विरोधी मत बढेर गएको छ । यस्तोमा आगामी चुनावपछि क्यानडामा नेपालीसहितका आप्रवासीमाथि थप कडाइ हुने आङ्कलन गरिएको छ ।