ट्रम्प प्रशासनले १५ सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गर्ने निर्णय फिर्ता लिएको छ। शुक्रबार वाशिङ्टनमा भएको अदालती सुनुवाइपछि इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट आईसले नीति परिवर्तनको घोषणा गरेको हो ।
यो निर्णयपछि अमेरिका रहेका नेपाली विद्यार्थीहरूलाई पनि केही राहत मिल्ने देखिएको छ। पछिल्लो समय नेपाल, भारत, चीन लगायत देशका सयौं विद्यार्थीहरूको भिसा र सेभिज रेकर्ड रद्द गरिएको सूचना आएको थियो, जसले नेपाली विद्यार्थीहरूमा समेत चिन्ता बढेको थियो ।
डिपार्टमेन्ट अफ जस्टिसका अनुसार अब भिसा समीक्षा तथा रद्दको नयाँ प्रक्रिया पूर्ण नभएसम्म थप भिसा रद्द गर्ने कार्य रोकिएको छ । यसले विशेषगरी भर्खरै भिसा र सेभिज रद्द भएका नेपाली विद्यार्थीहरूलाई अमेरिका बस्न र अध्ययन जारी राख्न केही सहजता ल्याउने अनुमान गरिएको छ ।
अप्रिल महिनामा मात्रै झण्डै १०० नेपाली विद्यार्थीहरूको भिसा वा सेभिज रेकर्ड रद्द गरिएको कानुन व्यवसायीहरूले बताएका थिए। धेरै विद्यार्थीहरूले दूतावासबाट भिसा रद्दको सूचना पाएका थिए भने केहीले आफ्नै कलेजमार्फत सेभिज खारेजको जानकारी प्राप्त गरेका थिए।
सेभिज खारेज हुनु भनेको विद्यार्थीहरूको भिसा स्थिति वैध नरहनु हो जसका कारण विद्यार्थीले अमेरिका भित्र कानुनी रूपमा बस्न र पढ्न पाउने अधिकार गुमाउने खतरा थियो ।