पाकिस्तानले भारतीय जहाजका लागि हवाई मार्ग बन्द गरिदिएपछि भारतीय जहाजको टिकट महँगिने देखिएको छ । जम्मू कश्मीरको आतङ्कवादी हमलापछि भारत पाकिस्तान बिच बढ्दो तिक्तताका माझ पाकिस्तानले भारतीय जहाज कम्पनीहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । जसको असर भारतीय एयरलाइन्सको टिकटसम्मै पर्ने देखिएको हो ।
यसको असर भारतको दिल्लीबाट हुने अन्तर्राष्ट्रिय उडान गर्ने जहाज कम्पनीहरूमा धेरै पर्ने देखिन्छ । दिल्लीबाट खाडी, पश्चिम एसिया, युरोप, बेलायत र उत्तर अमेरिकामा उडान भर्ने भारतीय कम्पनीहरूले अब आफ्नो रुट परिवर्तन गर्नुपर्नेछ ।
यसअघि ती गन्तव्यहरूमा हुने उडानका लागि भारतीय जहाजहरूले पाकिस्तानी हवाई क्षेत्र प्रयोग गर्ने गरेका थिए । तर अब भने ती जहाजहरूले अरब सागर वा मध्य एसिया हुँदै यात्रा गर्नुपर्ने छ जुन निकै लामो छ ।
बिहीबारबाटै भारतको एयर इन्डिया र इन्डिगो एयरलाइन्सले घुमाउरो नयाँ रुटमार्फत न्युयोर्क, अजरबैजान र दुबईको उडान गरेका थिए । अप्रिल महिनामा मात्रै यी एयरलाइन्सका १ हजार २ सय वटा उडान तालिका तय भएका छन् ।
यसरी रुट लम्बिँदा एयरलाइन्सको इन्धन खपत, कतै अवतरण गर्नुपर्दा अवतरण शुल्क र पाइलटलाई तिर्नुपर्ने शुल्क बढ्ने देखिन्छ । यसरी एयरलाइन्स कम्पनीहरूको बढ्ने लागतको असर यात्रुले खरिद गर्ने टिकटसम्म पर्नेछ र टिकट थप महँगिने देखिन्छ ।
नेपालबाट सिधा हवाई सम्पर्क नभएका देशहरूमा जान नेपालीहरू समेत भारत हुँदै ती देश जाने गरेका छन् । त्यसैले पछिल्लो अवस्थाका कारण अब भारत र अझ दिल्ली हुँदै त्यस्ता देश जाने नेपालीको टिकट लागत समेत बढ्ने देखिन्छ ।