मलेसियामा रोजगारी

मलेसियाले यी क्षेत्रमा खुलायो रोजगारी

आप्रवासन आप्रवासन

मलेसियाले केही निश्चित क्षेत्र तोकेर विदेशी श्रमिकलाई रोजगारी खुला गरेको छ । मलेसियास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै मागपत्र खुला भएको जानकारी दिएको हो ।

मलेसियाले सेवा, कृषि, प्लान्टेसन र निर्माण क्षेत्रको रोजगारी खुला गरेको हो । मलेसिया सरकारले दूतावासलाई जनाए अनुसार सेवा क्षेत्रतर्फ होलसेल एन्ड रिटेल, सेक्युरिटी गार्ड, ल्यान्ड वेयरहाउजिङ, गोल्डस्मिथ्स, टेक्सटाइल र पर्यटन क्षेत्रको रोजगारी खुला भएको छ । यस्तै, कृषि क्षेत्रतर्फ फिसेरिज तथा लाइभस्टक र प्लान्टेसन र निर्माण क्षेत्रको मागपत्र खुला भएको हो ।

अब यी क्षेत्रमा काम गर्न नेपालीसहितका आप्रवासी कामदार मलेसिया जान पाउने छन् । यद्यपि, नेपाली श्रमिक बढी जान चाहने म्यानुफ्याक्चरिङ लगायतका अन्य क्षेत्रमा भने रोजगारी खुला गरिएको छैन् ।  

हाल मलेसियामा करिब १४ प्रतिशत विदेशी श्रमिक कार्यरत छन् ।

मलेसियाले देशको कुल श्रम बजारमा विदेशी श्रमिक १५ प्रतिशत भन्दा नबढाउने नीति लिँदै गत जेठदेखि नेपालीसहितका विदेशी श्रमिक आपूर्ति रोकेको थियो । जसले गर्दा नेपालीहरु समेत नयाँ श्रम स्वीकृतिमार्फत रोजगारीका लागि मलेसिया जान पाएका थिएनन् ।

तर पछिल्लो समय श्रमिकको अभाव देखिन थालेपछि मलेसियाले विदेशी श्रमिक आपूर्तिमा केही लचक भएको हो ।

हाल मलेसियामा वैध हैसियतमा ३ लाख ९९ हजार ६१४ नेपाली कार्यरत छन् ।