मलेसियाले आन्तरिक तथा विदेशी श्रमिकलाई न्यूनतम तलब अर्थात् १७ सय रिंगेट नदिने कम्पनीहरूमाथि कारबाही अघि बढाएको छ । मलेसियाको सरकारले हालसम्म न्यूनतम पारिश्रमिक नदिने ३५ सुरक्षा गार्ड कम्पनीलाई कारबाही गरिसकेको हो।
ती कम्पनीहरूले १ हजार ५ सय रिंगेट मात्र मासिक तलब दिने गरेका थिए । ती कम्पनीहरूमाथि तत्कालका लागि जरिवाना तिराइएको छ र न्यूनतम तलब दिन आलटाल गरे कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
मलेसियामा मलेसियाका नागरिक र विदेशी श्रमिकलाई समान न्यूनतम तलब लागु छ । मलेसिया सरकारले गत फेब्रुअरी १ देखि लागू हुने गरी श्रमिकको मासिक न्यूनतम तलब १ हजार ७ सय रिंगेट पुर्याएको थियो ।
त्यस अघिसम्म मासिक न्यूनतम तलब १ हजार ५ सयबाट रिंगेट थियो । तर मलेसियामा कार्यरत नेपालीसहितका विदेशी श्रमिकले न्यूनतम तलब नपाएको गुनासो गर्दै आएका छन् । खास गरी, सुरक्षा गार्ड कम्पनीमा काम गर्ने नेपालीहरूले बढेको न्यूनतम तलब नपाएको गुनासो छ ।
यसअघि मलेसियास्थित नेपाली दूतावासले १ हजार ७ सय रिंगेट तलब नपाए उजुरी गर्न भनेको थियो । मलेसियामा करिब ४ लाख नेपाली कार्यरत छन् ।