मंगलबार भारतको जम्मू कश्मीरको पहलगाममा आतङ्कवादी हमला भएसँगै भारत पाकिस्तान आमनेसामने भएका छन् । हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो भने १० जना घाइते भएका छन् ।
हमलामा पाकिस्तानस्थित आतङ्कवादी समूह लस्कर–ए–तैयबा का सदस्य संलग्न रहेको बताइएको छ । त्यस लगत्तै दुवै देशले आरोप प्रत्यारोपसँगै विभिन्न कडा कूटनीतिक कदमहरू चालेका छन्।
भारतले सन् १९६० मा गरिएको सिन्धु जल सम्झौता तत्काल स्थगित गर्ने निर्णय गरेको छ। जसको जवाफमा पाकिस्तानले भारतसँगको व्यापारदेखि सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ ।
यसबाहेक, भारतले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न र पाकिस्तानी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । उसले पाकिस्तानीलाई दिँदै आएको विभिन्न भिसा र छुट रोकेको छ ।
उता पाकिस्तानले समेत भारतीयद्वारा सञ्चालित सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । भारतीय नागरिकलाई जारी गरिएका सबै भिसा निलम्बन र भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारलाई अप्रिल ३० अघि पाकिस्तान छोड्न आदेश दिइएको छ ।
यी दुई देश बिचको बढ्दो तनावले ती देशमा रहेका नेपाली समेत चिन्तामा परेका छन् । तनाव अझै बढ्दै गए त्यसको असर नेपालसम्मै पर्ने जोखिम छ ।