विश्व अर्थतन्त्र जोखिममा

“ट्रम्प भन्सार नीतिले विश्व अर्थतन्त्र नै जोखिममा“

आप्रवासन आप्रवासन

अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिका कारण विश्व अर्थतन्त्र नै जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । विश्वभरको वित्तीय मामिला हेर्ने राष्ट्र सङ्घको यो एजेन्सीले ट्रम्पकै कारण विश्वको अर्थतन्त्रमा चुनौती र अनिश्चितता थपिएको र यसले मन्दी निम्त्याउने देखिएको बताएको हो ।

सन् २०२४ मा विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ३ प्रतिशत रहेकोमा सन् २०२५ मा त्यो खुम्चिएर २ दशमलव ८ प्रतिशतमा पुग्ने कोषको प्रक्षेपण छ । यस्तो स्थिति आउनुमा कोषले ट्रम्पले विश्वभरका देशमाथि लगाएको भन्सारलाई जिम्मेवार ठहराएको छ ।

कोषले ट्रम्पको भन्सार नीतिको मूल्य स्वयं अमेरिकाको अर्थतन्त्रले समेत चुकाउनु पर्ने पनि भनेको छ । सन् २०२४ मा २ दशमलव ८ प्रतिशत रहेको अमेरिकाको आर्थिक वृद्धि दर सन् २०२५ मा १ दशमलव ८ प्रतिशतमा सीमित हुने आङ्कलन छ । यस्तै, सन् २०२६ मा वृद्धि दर १ दशमलव ७ प्रतिशतमा खुम्चिने प्रक्षेपण कोषको छ । 

विश्व अर्थतन्त्रमा देखा परेको यस सङ्कटले लाखौँ रोजगारी गुम्ने, महँगी बढ्ने तथा आर्थिक क्रियाकलाप झन् सङ्कुचित हुने देखिन्छ ।