६ वर्षपछि बुद्ध एयरले काठमाडौं–कोलकत्ता हवाइ मार्गमा पुनः नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ। एयर इण्डियाले यो मार्गबाट सेवा बन्द गरेसँगै बुद्ध एयरले फेरि व्यवसायिक उडान सुरु गर्ने योजना बनाएको हो ।
कम्पनीका अनुसार बुद्ध एयरले आगामी साउन महिनाभित्र कोलकत्तामा नियमित उडान सुरु गर्ने लक्ष्यसहित तयारी गरिरहेको छ । बुद्ध एयरले यसअघि सन् २०१९ मा काठमाडौं–कोलकत्ता मार्गमा सातामा तीनवटा उडान गर्दै आएको थियो। करिब नौ महिना उडान गरेपछि घाटा व्यहोर्नुपरेको भन्दै सेवा बन्द गरिएको थियो ।
यो पटक कम्पनीले सुरवाती चरणमा सातामा चार उडान सञ्चालन गर्ने योजना बनाएको छ । जुन अघिल्लोभन्दा एक उडान बढी हो । एयर इण्डियाले पनि यही मार्गमा सातामा चार उडान गर्दै आएको थियो । तर हाल दिल्ली केन्द्रित रणनीति अपनाउँदै, एयर इण्डियाले काठमाडौं–कोलकत्ता सेवा बन्द गरिसकेको छ।
बुद्ध एयरले प्रयोग गर्ने १५८ सिट क्षमताको विमानमा अघिल्लो उडानताका न्यूनतम १२० सिट भरिने गरेको अनुभव छ। कम्पनीले सोही अनुभवलाई आधार मानेर नोक्सानी कम गर्दै सफल उडान सञ्चालनको अपेक्षा राखेको छ । काठमाडौं–कोलकत्ता मार्गको उडान अवधि करिब १ घण्टा २५ मिनेटको हुने छ ।