चालु आर्थिक वर्ष ९ महिनामा काम खोज्दै ६ लाख ७ हजार ८७४ नेपालीले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि चैतसम्ममा ५ लाख ३९ हजार ७१४ पुरुष र ६८ हजार १६० महिला अन्तिम श्रम स्वीकृति लिएर विदेश उडेका हुन् । जस अन्तर्गत चैतमा मात्रै ७३ हजार ४०३ वैदेशिक रोजगारीमा गएका छन् ।
यसरी विदेशिनेका सङ्ख्या साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५ छ ।
कात्तिक ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जना विदेशिएका छन् ।
यसबाहेक, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ नेपाली काम खोज्दै विदेश गएका छन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाली युएई गएका छन् । ९ महिनामा १ लाख ९६ हजार ९२१ जना युएई गएका हुन् ।
त्यसपछि साउदी अरब र कतार जानेको सङ्ख्या अधिक छ ।
९ महिनाको तथ्याङ्कलाई औसतमा निकाल्दा प्रत्येक महिना ६७ हजार ५०० नेपाली वैदेशिक रोजगारीमा गएका छन् । अझ यसलाई दैनिक रूपमा हेर्दा, हरेक दिन २ हजार २५१ जना नेपालीले काम खोज्दै देश छोडिरहेको देखिन्छ ।