अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै भिजिटर भिसा पाउने नेपालीको सङ्ख्या झन् बढेको पाइएको छ ।
अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्सका अनुसार ट्रम्पले शपथ लिए यताका २ महिनामा ३ हजार ९८८ नेपालीले भिजिटर भिसा पाएका हुन् । जस अन्तर्गत जनवरीमा २ हजार १५० र फेब्रुअरीमा १ हजार ८३८ नेपालीले भिजिटर भिसा पाएका हुन् ।
ट्रम्प आउनु अघिका महिनाको तुलनामा भिजिटर भिसा पाउने नेपालीको सङ्ख्या उच्च देखिन्छ । ब्युरोका अनुसार गत डिसेम्बरमा १ हजार १९० र नोभेम्बरमा १ हजार ६३२ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका थिए । यस्तै, अक्टोबरमा पनि त्यस्तो सङ्ख्या १ हजार ६६९ मात्र थियो ।
ट्रम्पको आप्रवासन विरोधी नीतिकै कारण अमेरिकामा नेपालीसहितका आप्रवासीहरू पक्राउ पर्ने र देश निकालामा पर्ने क्रम तीव्र छ । तर त्यसका बाबजुद वैध तवरले अमेरिका जान चाहने नेपालीलाई भने ट्रम्प उदयको प्रतिकुल असर नपरेको देखिएको हो ।
अमेरिकाको भिसा नीतिलाई संसारकै कठोर मध्येको एक मानिन्छ । आर्थिक वर्ष २०२४ मा कुल नेपाली आवेदकमध्ये ५० दशमलव ५ प्रतिशत अर्थात् २४ हजार ३०९ जनालाई मात्र भिजिटर भिसा दिइएको थियो ।