लक्जम्बर्गमा रेकर्ड ब्रेकिङ सङ्ख्यामा सेन्जेन भिसा आवेदन परेको छ । लक्जम्बर्गको विदेश तथा युरोपेली मामिला मन्त्रालयका अनुसार सन् २०२४ मा लक्जमबर्गले कुल ३० हजार ६७७ सेन्जेन भिसा आवेदनहरू प्राप्त गरेको छ।
यो सन् २०२३ को तुलनामा १७३ प्रतिशतले बढी हो । सन् २०२३ मा सेन्जेन भिसाका लागि ११ हजार २२७ जनाको आवेदन परेको थियो ।
उच्च सङ्ख्यामा आवेदन बढ्नुलाई लक्जमबर्गमा अध्ययन, काम वा बसोबास गर्न चाहने आप्रवासीको सङ्ख्या बढ्दै गएको सङ्केत गर्दछ ।
सन् २०२४ मा लक्जम्बर्गमा पर्यटक भिसा लागि ८ हजार ३८, व्यावसायिक भिसाका लागि ५ हजार ६ सय र लामो समय बस्नका लागि ४ हजार ६२४ वटा भिसा आवेदन परेको थियो । जसमध्येबाट सबैभन्दा धेरै अर्थात् ५ हजार ४९५ सेन्जेन भिसा भारतीयहरूले पाएका थिए ।
त्यसपछि ३ हजार २१६ चिनियाँ, १ हजार ९०५ मोरक्कन र १ हजार ३७८ रुसी नागरिकलाई भिसा जारी गरिएको थियो।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार लक्जमबर्ग संसारकै सबैभन्दा धनी देश हो । यसको प्रति व्यक्ति आय नै १ लाख ४३ हजार ७४० अमेरिकी डलर छ ।
लक्जमबर्ग राम्रो कमाइ हुने एक सेन्जेन राष्ट्र समेत हो । यसले गर्दा अन्य सेन्जेन राष्ट्र पुगेका नेपालीसहितका आप्रवासी लक्जमबर्ग जान लालायित हुने गरेका छन्।