युद्धका कारण बन्द भएको रोजगारी खुलेपछि ४३९ जना नेपाली केयरगिभर इजरायल पुगेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार प्रतिबन्ध खुलेयता जिटुजी प्रणालीमार्फत सो सङ्ख्याका नेपाली इजरायल पुगेका हुन् । विभागका अनुसार चैतमा मात्रै १८९ जना केयर गिभरको भिसा आएको छ।
त्यसअघि फागुनमा भिसा स्वीकृति पश्चात् २५० जना केयरगिभर इजरायल गएका थिए ।
गत असोजमा केयरगिभरका लागि १ हजार १५६ महिला र ९५६ पुरुष गरी कुल २ हजार ११२ उम्मेदवार लक्की ड्र मार्फत छनोट भएका थिए । तर इजरायल विभिन्न देश तथा समूहसँग युद्धमा होमिँदा उनीहरूको पक्रिया रोकिएको थियो ।
तर पछिल्लो समय युद्ध रोकिएसँगै इजरायल जाने पक्रिया आरम्भ भएको हो । जस अनुसार स्वास्थ्य परीक्षणमा उत्तीर्ण ९१९ सम्झौता पत्र आउने क्रम जारी छ।
इजरायलको रोजगारीप्रति नेपालीहरूको आकर्षण रहँदै आएको छ । इजरायलमा केयरगिभरमा काम गर्ने नेपालीको मासिक तलब करिब २ लाख २० हजार रुपैयाँ तोकिएको छ ।