ट्रम्प-अदालत टकराव

ट्रम्पले देश निकाला गर्न प्लेन चढाएका आप्रवासीलाई रोक्यो अदालतले

आप्रवासन आप्रवासन

अमेरिकाको सर्वोच्च अदालतले भेनेजुएलाका आप्रवासीहरूलाई एल साल्भाडोरको जेलमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कदममाथि अन्तरिम रोक लगाएको छ। शनिबार भेनेजुएली आप्रवासीको एक समूहलाई एल साल्भाडोरको कुख्यात जेल पठाउन जहाज चढाइसकेको अवस्थामा अदालतले रोकेको हो।

अदालतले थप आदेश नआउँदासम्म कुनै पनि बन्दीलाई अमेरिकाबाट तेस्रो देश निर्वासित नगर्न समेत भनेको छ  ।

प्रशासनले ५० जनाभन्दा बढी भेनेजुएली आप्रवासीलाई एल साल्भाडोर पठाउन प्लेन समेत चढाइसकेको थियो ।

ट्रम्पले सन् १७९८ को ‘एलियन एनिमीज एक्ट’ भनिने युद्धकालीन कानुन ब्युँताएर आप्रवासीहरूलाई देश निकाला गरी एल साल्भाडोरको जेलमा पठाउने गरेका छन्। जस अन्तर्गत हालसम्म करिब ३ सय आप्रवासीलाई एल साल्भाडोर पुर्‍याइ सकिएको छ ।

त्यस विरुद्ध यसअघि विभिन्न सङ्घीय जिल्ला अदालतबाट आदेश आए पनि ट्रम्प प्रशासनले त्यसलाई मान्न आनाकानी गरिरहेको थियो । तर सर्वोच्चको पछिल्लो आदेशपछि भने आप्रवासीलाई तेस्रो मुलुक पुर्‍याउने ट्रम्पको नीतिमा तत्कालका लागि अवरोध पुग्ने निश्चित छ ।

यद्यपि, ट्रम्प प्रशासनले भने यस सम्बन्धमा हालसम्म कुनै प्रतिक्रिया जारी गरेको छैन ।