अमेरिकाको विद्यार्थी भिसा

ट्रम्प आएपछि झन् धेरै नेपालीले पाए अमेरिकाको विद्यार्थी भिसा

आप्रवासन आप्रवासन

आप्रवासनप्रति निकै कठोर मानिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी २० मा सत्ता सम्हाले ।

उनले सत्ता सम्हालेयता अमेरिकामा रहेका वा प्रवेश गर्न चाहिरहेका आप्रवासीहरूमा आतङ्क नै मच्चिरहेको छ । ट्रम्पको आप्रवासन विरोधी कडा नीतिकै कारण नेपालीसहितका आप्रवासीहरू पक्राउ पर्ने र देश निकालामा पर्ने क्रम जारी छ ।

यस्तै, विद्यार्थी भिसामा अमेरिकामा रहेका नेपालीसहितका अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत आफ्नो भविष्यलाई लिएर छटपटीमा छन् । यसको प्रभाव स्वरूप अध्ययनका लागि अमेरिका जाने तयारीमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले समेत विकल्प खोजिरहेका छन् ।

तर तथ्याङ्कले भने अमेरिका जान चाहने नेपाली विद्यार्थीहरूका हकमा भने ट्रम्पको आगमनले अनुकूलता थपेको देखाएको छ । ट्रम्पले सत्ता सम्हालेयता अन्य देशका विद्यार्थीलाई दिइने भिसा घटिरहँदा नेपाली विद्यार्थीलाई प्रदान गरिएको भिसा दर भने बढेको हो ।

अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्सका अनुसार गत डिसेम्बरमा ६१६ नेपालीले विद्यार्थी भिसा पाएका थिए । तर ट्रम्प आएको महिना अर्थात् जनवरीमा ७५० नेपालीले विद्यार्थी भिसा पाए । अझ, फेब्रुअरी महिनामा भिसा पाउने नेपाली विद्यार्थीको सङ्ख्या ८०२ पुगेको छ ।

फेब्रुअरीमा ती विद्यार्थीका ५० र जनवरीमा ६३ जना डिपेन्डेन्टले समेत भिसा पाएका थिए।

चालु अमेरिकी आर्थिक वर्षमा कुनै पनि महिना सो सङ्ख्यामा नेपाली विद्यार्थीले भिसा पाएका थिएनन् ।

यो भिसा दरले ट्रम्प आगमनको असर अमेरिका जाने तयारीमा रहेका नेपाली विद्यार्थीमा नपरेको देखाउँछ ।