भारतीयलाई एनओसी अनिवार्य

नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्ने भारतीयलाई एनओसी अनिवार्य

आप्रवासन आप्रवासन

नेपालको विमानस्थल हुँदै तेस्रो मुलुक यात्रा गर्ने भारतीयलाई नो अब्जेक्सन लेटर, एनओसी अनिवार्य गरिएको छ । नेपालस्थित भारतीय दूतावासले एक सर्कुलर जारी गर्दै नेपाललाई ट्रान्जिट बनाएर वा नेपालबाट तेस्रो मुलुक यात्रा गर्ने भारतीय नागरिकलाई एनओसी अनिवार्य गरिएको जनाएको हो ।

त्यस्ता यात्रुले एनओसीकालागि काठमाडौँस्थित भारतीय दूतावासमा सम्पर्क गर्नुपर्ने छ । एनओसी सक्कल पासपोर्ट, अध्यागमनको स्टम्प हानिएको पेजको फोटोकपी, हवाई टिकट र दुई प्रति पासपोर्ट साइजको फोटो सहित पेस गरेपछि प्राप्त गर्न सक्ने छन् । एनओसीका लागि एक हजार ८ सय ४५ भारतीय रुपैयाँ लाग्ने छ ।

यो कार्य यात्राको तीन दिन अघि गर्नुपर्ने पनि दूतावासले जनाएको छ । यद्यपि नेपालको विमानस्थल ट्रान्जिट मात्र परेको भारतीयहरूलाई भने एनओसी आवश्यक पर्ने छैन ।

यसअघि नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्ने भारतीयलाई एनओसी आवश्यक पर्दैन थियो । तर पछिल्लो समय नेपालको विमानस्थल प्रयोग गरी अन्य मुलुकमा आपराधिक गतिविधिमा भारतीय संलग्न हुने गरेको भन्दै दूतावासले एनओसी अनिवार्य गरेको हो ।