अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोकिदिने चेतावनी दिएको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ट्रम्प प्रशासनको माग पूरा नगरे विदेशी विद्यार्थी भर्ना गर्न पाउने अधिकार खोस्ने चेतावनी दिएको हो । ह्वाइट हाउसले हार्वर्डले पाउने २ अर्ब डलर बराबरको सङ्घीय अनुदान कटौती गरिदिएको केही दिनमै अर्को चेतावनी दिएको हो ।
यसबाहेक, ९ अर्ब डलर बराबरको दीर्घकालीन अनुदान प्रतिबद्धता पनि स्थगित गर्ने बारे समीक्षा भइरहेको बताइएको छ । ह्वाइट हाउसले गत साता हार्वर्डलाई यहुदीविरुद्धको घृणालाई रोक्न र प्रशासनसँगै नियुक्ति प्रक्रिया र भर्ना प्रणालीमा परिवर्तन गर्न भनेको थियो ।
तर हार्वर्डले ती मागहरूलाई हस्तक्षेपको संज्ञा दिँदै तीनलाई कडा रूपमा अस्वीकार गरेको छ । जसबाट ह्वाइट हाउस क्रुद्ध बनेको देखिन्छ ।
ह्वाइट हाउस र हार्वर्ड बिचको तिक्तताको मारमा भने त्यहाँ अध्ययनरत नेपालीसहितका अन्तर्राष्ट्रिय विद्यार्थीहरू पर्ने देखिन्छ । हार्वर्ड संसारकै अति प्रतिष्ठित मध्ये एक विश्वविद्यालय हो । हार्वर्डमा हाल नेपालीसहित ६ हजार ३९४ विदेशी विद्यार्थी अध्ययनरत छन् ।